• १० पुस २०८१, बुधबार

निकुञ्जमा साठी प्रजातिका वनस्पति खानयोग्य

blog

शिवशङ्कर मिश्र 

बारा, चैत २ गते । पर्सा राष्ट्रिय निकुञ्जमा ६० प्रजातिको वनस्पति खानयोग्य रहेको पाइएको छ।  निकुञ्जमा ३३६ प्रजातिका वनस्पति तथा ३६ प्रजातिको स्तनधारी, ४९० प्रजातिका चराचुरुङ्गी, १३ प्रजातिका सरिसृप र ३१ प्रजातिका पुतली रहेका छन्। 

निकुञ्जमा हात्ती, पाटेबाघ, गैँडा, गौरीगाई, जङ्गली कुकुर, चितुवा, जरायो, नीलगाई, अजिङ्गर, किङकोब्रा, राजधनेशलगायतका ३६ प्रजातिको स्तनधारी, १७ प्रजातिको दुर्लभ र २० प्रजातिको साधारण जनावर रहेको निकुञ्ज प्रमुख डा. अशोककुमार रामले बताउनुभयो। 

निकुञ्जको ९० प्रतिशत क्षेत्रफलमा साल, खयर, सिसौ र छ प्रकारको वन रहेको निकुञ्जका सूचना अधिकारी एवं रेन्जर हिमाल पाठकले जानकारी दिनुभयो। सालको वन, पतझडको 

वन, मिश्रित काँटे पतझड वन, मिश्रित सल्लोको वन, सल्लोको वन र मिश्रित खयर, सिसौको वन रहेको छ। सन २०१८ को बाघ गणनाअनुसार निकुञ्जमा १८ वटा बयस्क बाघ, तीनदेखि पाँचवटा गैँडा र १०५ वटा गौरीगाई छन्। 

विक्रम संवत् २०४० वैशाख ५ गतेको मन्त्रिपरिषद्को बैठकले पर्सा र मकवानपुर जिल्लाको केही भेग समेटी ४९९ वर्ग किलोमिटर क्षेत्रफललाई पर्सा वन्यजन्तु आरक्ष घोषणा गरेको थियो। पछि २०७२ भदौ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन आरक्षलाई बारा जिल्लाको १२८.३९ वर्ग किलोमिटर राष्ट्रिय वनलाई समेटेर ६२७.३९ वर्गकिलोमिटर क्षेत्रफल फैलाइएको उहाँले बताउनुभयो।

यसैगरी २०७४ वैशाख २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले आरक्षलाई पर्सा राष्ट्रिय निकुञ्जमा परिणत गरी तीन जना प्रमुख संरक्षण अधिकृत, तीनवटा फाँटअन्तर्गत दुईवटा सेक्टर कार्यालय, चारवटा पोस्ट, निकुञ्जतर्फ १०१ र हात्तीसारतर्फ ३२ जना कर्मचारी गरी १३३ जनाको दरबन्दी कायम गरेको थियो।