ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १ गते । कतारकी राजकुमारी आस्मा अल्थानी र आरोही निर्मल पुर्जाको टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्न टोली उक्त स्थानमा पुगेको हो ।
एक हप्ताअघि म्याग्दीको अन्नपूर्ण गाउँपालिका –३ दानादेखि अन्नपूर्ण हिमालतर्फ प्रस्थान गरेको अल्थानी र पुर्जाको टोली ६ हजार सातसय मिटर उचाइमा रहेको क्याम्पमा पुग्नुभएको हो । अनुकुल मौसम भए अबको १५ दिनभित्र आरोहण टोलीले अन्नपूर्ण हिमालको आरोहण गर्ने सूचना पाएको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।
‘‘कतारकी राजकुमारी आस्मा अल्थानी र निर्मल पुर्जासहितको पाँच जनाको आरोहण टोली अन्नपूर्ण हिमालको २ नम्बर क्याम्पमा पुगेको छ’’ दानाका पर्यटन व्यवसायी शेरचनले भन्नुभयो, ‘‘अनुकुल मौसम भएमा अबको १५ दिनभित्र हिमाल आरोहण गर्न टोली सफल हुनेछ ।’’ अहिलेसम्म मौसम अनुकुल नै रहेको उहाँले बताउनुभयो ।
हिमाल आरोहण गर्न राजकुमारी, पुर्जा र आरोहण टोलीसहितलाई एक हप्ताअघि दानाका स्थानीयहरुले विदाई गरेका थिए । इलाईट ट्रेकिङ कम्पनीमार्फत अल्थानीले अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो ।
आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका पूर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ । राजकुमारी अल्थानीले यसअघि सगरमाथा, धौलागिरी, कञ्चनजंगा, लोत्से, आमादम्बा, मनास्लु, केटुलगायतका हिमालको आरोहण गरिसक्नुभएको छ ।
राजकुमारीसहितको टोलीले अन्नपूर्ण हिमालको सफल आरोहण गरेमा स्वदेश तथा विदेशमा प्रचार प्रसार भई पर्यटन प्रवर्धनमा ठूलो टेवा पुग्ने अन्नपूर्ण –३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताउनुभयो । ओझेलमा परेको अन्नपूर्ण आधार शिविरको प्रचार प्रसारमा सहयोग पुग्ने उहाँको भनाइ छ ।
सन् १९५० को जुन ३ मा फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेक्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो पटक आरोहण भएको हिमाल हो ।