• १२ मंसिर २०८१, बुधबार

म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

blog

बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पस ।

ठाकुरप्रसाद आचार्य

म्याग्दी, चैत १ गते । म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचन स्थगित गरिएको छ । क्याम्पस प्रशासनले बुधवार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि चैत ५ गते हुने निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जनाएको छ । 

स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी सङ्घ सङ्गठनबीच विवाद भएपछि क्याम्पस प्रशासनले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो ।   

स्ववियु निर्वाचनलाई लिएर नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले स्ववियु निर्वाचन कार्यालयमा सोमबार तालाबन्दी गरेको थियो । 

तालाबन्दीका विषयमा लिएर मङ्गलबार क्याम्पस सञ्चालक समिति, प्रशासन, निर्वाचन समिति र स्ववियु निर्वाचन २०७९ का लागि दर्तावाला सङ्घसङ्गठनका प्रतिनिधिहरुबीच भएको बैठकको निर्णय बमोजिम बुधवार(आज) विहान ११ बजे सम्म विद्यार्थी सङ्घ सङ्गठनलाई सहमति गर्ने समयावधि तोकिएकोमा उक्त समयभित्र सहमति कायम भएको सूचना नआएकाले निर्वाचनका कार्यक्रम स्थगित गरिएको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले बताउनुभयो । 

यसैगरी, मङ्गला गाउँपालिकास्थित बाबियाचौरमा रहेको मङ्गला शिक्षा क्याम्पसमा पनि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीले बहिष्कार गरेको छ । 

निर्वाचनका बारेमा क्याम्पस प्रशासनले जानकारी नदिएको, गलत सूचना दिएको, विद्यार्थी भर्नाका बारेमा प्रष्ट सूचना दिन आनकानी गरेको, मनोनयन दर्तासहित अन्य प्रक्रियामा क्याम्पसमा अनुपस्थित भएको भन्दै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै चुनाव बहिष्कारको घोषणा गरेका हुन् ।  

निर्वाचन अधिकृकको कार्यालयमा तालाबन्दी गर्दै निर्वाचनसम्बन्धी गतिविधिमा असहमति भएको र विद्यार्थीमैत्री वातावरण नभएको दुबै सङ्गठनले आरोप लगाएका छन् ।