• ३ पुस २०८१, बुधबार

चैत सुरुमै अत्यधिक गर्मी

blog

सप्तरीमा चैत शुरु हुँदै अत्यधिक गर्मी शुरु । तस्विर– देवरामप्रसाद यादव, सप्तरी ।

देवराम प्रसाद यादव

सप्तरी, चैत १ गते । सप्तरीसहित मधेश–तराईका जिल्लामा यस वर्ष चैत सुरु हुँदै अत्यधिक गर्मी हुन थालेको छ । गएको भदौदेखि वर्षा नभएपछि यस क्षेत्रमा गर्मी हुन थालेको हो ।

चैत महिना सुरुमै दिउँसो बाहिर निस्कनै गाह्रो पर्ने गरी चर्को घाम हुने गरेको हुँदा मधेश–तराईवासी प्रभावित हुन थालेका छन् । चर्को घाम लाग्दा मधेश–तराई क्षेत्रको तापक्रम दिनहुँ बढ्दो क्रममा छ ।

बुधबार मध्यान्ह सप्तरीको तापक्रम ३४ डिग्री सेल्सियस मापन गरिएको छ । महादेवा गाउँपालिका–१, सोनराकी प्रमिला यादवले चैत सुरुमै अत्यधिक गर्मी भएको पहिलो पटक महसुस गरेको बताउनुभयो । 

“अहिले चैत सुरुमै यस्तो गर्मी छ वैशाख, जेठ लागेपछि झन् कस्तो गर्मी होला?” गृहिणीको काम गर्दै आउनुभएकी यादवले भन्नुभयो, “अहिले धमाधम तेलहन, दलहन अनाज भित्र्याउन चटारोलगायत अन्य काम भइरहेका छन् । चर्को घाममा उभिएर काम गर्नै गाह्रो छ ।” चैत सुरुमै चौतारीको छहारीमा बस्नुपर्ने गरी गर्मी हुँदा बुढापाकाले आश्चर्य व्यक्त गरेका छन् ।

सामान्यतया मधेश–तराई क्षेत्रमा वैशाख लागेपछि अत्यधिक गर्मी हुने गर्छ तर यस वर्ष चैत सुरुदेखि नै गर्मी बढेको छ । राजविराज नगरपालिका–१०, कदमहाका ६० वर्षीय लक्ष्मण यादवले चैत सुरुमै खलखल पसिना बग्ने गरी गर्मी हुँदा आश्चर्य लागेको बताउनुभयो ।  

त्यस्तै, वन क्षेत्रमा निरन्तर डढेलो लागिरहेको छ। सुक्खा बढ्दै जाँदा सप्तरी, सिरहा, सुनसरी, मोरङ्ग, सर्लाही, महोत्तरी, धनुषा, रौतहटलगायत मधेश–तराईका जिल्लाको चुरे भेगमा चैत सुरु हुँदै खानेपानीको हाहाकार हुन थालिसकेको छ ।