• १३ असोज २०८१, आइतबार

भेटियाे हाडहाडेमा अचम्मको गुफा

blog

हाडहाडेमा अचम्मको गुफामा भेटिएका विभिन्न आकृति । तस्बिर –रमेश विश्वकर्मा ।

रमेश विश्वकर्मा

गुल्मी, चैत १ गते । गुल्मीको हाडहाडेमा गुफा भेटिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडेको बर्दबास धाराखोलामा नयाँ गुफा भेटिएको वडाध्यक्ष पदम विष्टले जानकारी दिनुभयो । 

पचभैयामा ट्रि–हाउस बनाउनका लागि पर्यटन सम्भावनाका विषयमा छलफल हुँदै गर्दा तलपट्टि एउटा प्वाल भएको जानकारी पाएको विष्टले बताउनुभयो । जानकारी पाएलगत्तै स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र जाँदा गुफा भेटिएको हो । गुफाको चौडाइ र उचाइ पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ ।  

त्यस गुफामा शिव लिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रगत धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको आकृति, नाग, खेतबारीलगायतका विभिन्न आकर्षक आकृत्तिहरु रहेका छन् ।

त्यहाँ मान्छे लुक्न मिल्ने जत्तिकै प्वाल भेटिए पनि त्यसलाई साराको दुलो भन्दै सो प्वालमा दुम्सी जाने डरले स्थानीयले ढुङ्गाले छेकेर राखेका थिए । 

“२०२८ मा बहुदल र निर्दलको लडाइँमा स्थानीय भूमिराम घिमिरे सोही स्थानमा गई लुक्नुभयो । पछि २०६२ मा स्थानीय तुलाराम पाण्डेलगायतका स्थानीयहरुले ढुङ्गा झिकेर भित्र पस्ने प्रयास गर्नुभएको थियो ।”

उहाँले भन्नुभयो, “उहाँहरु केही भागसम्म जाँदा गाईका थुन देख्नुभयो । तर अन्य जङ्गली जनावरको आक्रमणमा परिने डरमा जान सक्नुभएन ।” उहाँहरुले दुम्सीलगायतका जनावरहरु भगाउन भन्दै त्यसभित्र आगो बाल्नुभयो । पुनः उक्त प्वाललाई ढुङ्गाले छोपेर राख्नुभयो । 

अहिले स्थानीयले गुफालाई ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ भनी नामकरण गरेका छन् । गुफालाई संरक्षण गर्नको लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचार–प्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । 

गुफालाई पर्यटकीय क्षेत्र बनाई पर्यटन प्रवर्धन गर्ने वडाको योजना रहेको वडाध्यक्ष विष्टले बताउनुभयो । जसका लागि अहिले एक लाखमा सडकबाट गुफासम्म पुग्ने पैदल मार्ग निर्माण गरिँदैछ । यस जिल्लाको धुर्कोट गाउँपालिकामा योसँगै गुफाको सङ्ख्या दुई पुगेको छ ।

 हाडहाडेमा गुफा भेटिएदेखि अहिलेसम्म अवलोकन गर्नेहरु दिनप्रति दिन बढ्दै गएका छन् । सदरमुकाम तम्घाससहित विभिन्न ठाउँबाट गुफा अवलोकन गर्न आएका छन् ।