नवीन शाही
सुर्खेत, चैत १ गते । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले मृत भेटिएका पुरुष विनपा–१० दीपनगर बस्ने वर्ष ४१ को ध्रुवजङ्ग शाही भएको जानकारी दिनुभयो ।
प्रहरीलाई परिवारले दिएको बयान अनुसार मृतक शाही यस अघि गाडी चलाउनुुुहुन्थ्यो भने केही दिन अघि विदेश जाने तयारीमा हुनुहुन्थ्यो । उहाँ मङ्गलबार बिहान १० बजेतिर घरबाट निस्किनुभएको थियो ।
मानवबस्तीबाट करिब ५० मिटर दूरीमा बाँसझाङ नजिकै शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रवक्ता शाहीले घटनाको प्रकृति हेर्दा कसैले उहाँको हत्या गरेको हुनसक्ने आशङ्का गर्नुभएको छ । प्रवक्ता शाहीका अनुसार शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । आफन्तको जाहेरीपछि पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान हुने बताइएको छ ।