• ४ पुस २०८१, बिहिबार

सडक किनारका रुख मासिँदै

blog

जीवछ यादव 

लहान, चैत १ गते । सडक किनारमा लगाएका आँपका रुख मासिँदै गएका छन्। लहान–ठाडी सडकखण्डका आधाभन्दा धेरै रुख मासिए पनि सरोकारवालाको ध्यान पुगेको छैन। 

चार दशकअगाडि नै निर्माण भएको उक्त सडकको दुई किनारामा लगाएका आँपका फल लाग्ने रुख मासिँदै गएका हुन्। हाँगा दाउराका लागि र पात बाख्रालाई खुवाउन काट्न थालेपछि बर्सेनि रुख मासिँदै जान थालेका हुन्। 

आँपका रुख संरक्षण भएको हुनसके लाखौँ रुपियाँ आम्दानी गर्न सकिने अवस्था छ। गाउँपालिका, वडा कार्यालय, सडक डिभिजन कार्यालय लहानले निगरानी नगर्दा मासिने क्रम बढ्दै जान थालेको सखुवानन्कारकट्टी–३ का शिक्षक भोगेन्द्रप्रसाद यादवले बतउनुभयो। उहाँका अनुसार लहानदेखि भगवानपुरसम्म १२ किलोमिटर रहेको यस सडकको दुई किनारका आँपका रुखबाट मङ्सिर, पुस र माघ महिनामा हाँगा काट्ने गरिन्छ। यतिबेला बाख्रालाई खुवाउन सडक किनारकै रुखबाट हाँगा काट्ने गरिन्छ। 

घास काटेपछि हाँगा सुक्ने गर्छन् र त्यसलाई फेरि काटेर दाउराका रूपमा प्रयोग भइरहेको उहाँले बताउनुभयो। हाँगा काट्नेलाई कुनै निकायले कारबाही नगर्दा रुख मासिँदै गइरहेका हुन्। 

सडक निर्माण भएको बेला जसको जग्गा सडकमा प-यो तिनीहरूले नै आँपका फल उपयोग गर्दै आइरहेका छन्। रुख फैलिँदै जाँदा सडक किनाराको खेतमा छायाँले उत्पादन कम हुने भएपछि जग्गावालाले नै रुख काट्ने गरेका छन्।  

सडकमा उड्ने धुलो, धुवाबाट जोगिन वातावरण सन्तुलनका लागि रोपिएका आँपको रुख सुक्दै जानु वातावरणीय दृष्टिले राम्रो नहुने वातावरणविद् दिनेशकुमार यादव बताउनुहुन्छ। उहाँले रुख जोगाउन स्थानीय तहले निगरानी गर्नुपर्ने सुझाव दिनुभयो। उहाँका अनुसार चोक चौतारामा रहेका देव प्रजातिका पीपल, वर र पाकैडका रुख लोप हुन थालेपछि आँपको रुख रोपेर वातावरणलाई शुद्ध बनाउन रुख लगाउनु पर्नेमा लगाएका रुख काट्नु चिन्ताको विषय हो। राष्ट्रिय राजमार्गलाई चार लेनमा बिस्तार गर्दा हजाराँै रुख काटिनुपर्ने बाध्यता भए पनि वातावरणीय सन्तुलन मिलाउन  किनारमा फेरि रुख लगाउनुपर्ने आवश्यकता छ।