राधाकृष्ण डुम्रे
वालिङ, फागुन ३० गते । पूर्वाधार विकास कार्यालय, स्याङ्जाले झण्डै ८५ प्रतिशत योजना सम्झौता गरी निर्माणकार्य थालनी गरेको छ । चालु आर्थिक वर्षका दुई सय ६८ योजनामध्ये २२५ योजना सम्झौता गरी निर्माण थालनी गरेको हो ।
चालु आर्थिक वर्षका लागि सङ्घीय र प्रदेश सरकारबाट दुई सय ६८ योजना निर्माण गर्न एक अर्ब ३१ करोड ८४ लाख ३८ हजार विनियोजन भएको छ । ५५ योजना सम्पन्न गरेर विनियोजित रकमबाट कार्यालयले ४२ करोड ७६ लाख ७९ हजार ९ सय १७ रुपियाँ भुक्तानी गरी सकेको कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले जानकारी दिनुभयो ।
योजना निर्माण गर्न विनियोजित कुल बजेटमध्ये हालसम्म ३२ प्रतिशत पुँजीगत खर्च गर्न सफल भएको अर्यालको भनाइ छ । कुल योजनामध्ये सम्झौता हुन ४३ योजनालाई तत्काल सम्झौता गरी निर्माण थालनी गर्न लागेको अर्यालले जानकारी दिनुभयो ।
योजना सम्झौतामा ढिलाइ, महँगीलगायतका कारणले समयमै पुँजीगत खर्च गर्न नसके पनि वार्षिक लक्ष्यअनुसार योजनाका काम शुरु भएको कार्यालयले जनाएको छ ।
करिब एक महिनाको अवधिमा बाँकी १५० योजना निर्माण सम्पन्न गरी पुँजीगत खर्चलाई ६० प्रतिशत पु¥याउने कार्यालयको लक्ष्य छ ।
सम्झौता भएका योजनाहरुको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ । पूर्वाधारतर्फ सडक, पुल, भवन तथा अन्य योजनाहरुलाई वार्षिक लक्ष्यअनुसार निर्माणकार्य तीव्र बनाइएको निमित्त प्रमुख अर्यालले बताउनुभयो ।
आर्थिक वर्ष २०७९/०८० का लागि दुई करोड ११ लाख ६२ हजार विनियोजित चालु खर्चमध्ये कार्यालयले ७८ लाख ९७ हजार ७७४ रुपियाँ खर्च गरेको छ । विनियोजित बजेटमा चालु खर्चतर्फ ३७ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ ।