• २३ पुस २०८१, मङ्गलबार

विवादमै अल्झियो वैकल्पिक मार्ग

blog

विवादका कारण निर्माण कार्य रोकिए बल्दे अम्कोट वैकल्पिक मार्ग । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, फागुन ३० गते । बाजुराको साँफे–मार्तडी सडक अन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक मार्गले गति लिन सकेको छैन । 

विवाद भएपछि बूढीगङ्गा नगरपालिका –२ को  बाजुरादेखि अम्कोट द्धवारीसम्मको झन्डै ३ किलोमिटर वैकल्पिक मार्गको निर्माणको काम गत भदौमै सुरु गरिएको थियो । सडक डिभिजन कार्यालय अछामले २०७९ भदौको पहिलो साताबाट नै वैकल्पिक निर्माणकार्यको काम सुरु गरिएको भए पनि अम्कोटका स्थानीयले गरेको विवादले निर्माणकार्य रोकिएको सडक डिभिजन कार्यालय अछामले जनाएको छ ।

सडक डिभिजन कार्यालय अछामका कार्यालय दिवस बस्नेतले सडक डिभिजन कार्यालय अछाम, जिल्ला प्रशासन कार्यालय बाजुरा, बूढी गङ्गा र बडिमालिका नगरपालिका स्थानीय सरकार र अम्कोटबासीको सहमतिमै बल्दै अम्कोट वैकल्पिक मार्गको निर्माण कार्य सुरु गरिएको बताउनुभयो । उहाँले बर्खाको समय साँफे–मार्तडी सडक अन्तर्गत पर्ने अम्कोट द्धवारी सडकमा जाने गरेको पहिरोले सडक अवरुद्ध हुने गरेपछि सहजता लागि अम्कोटका स्थानीयको सहमतिबाट नै वैकल्पिक सडक निर्माणकार्य सुरु गरिएको बताउनुभयो ।

सडक डिभिजन कार्यालय अछामले एक्स्काभेटर मार्फत झन्डै एक किलोमिटर सडक निर्माण गरिएको भए पनि अहिले अम्कोटका स्थानीयले विवादमा गरेपछि काम रोकिँदै आएको बस्नेतले बताउनुभयो । यता अम्कोटका स्थानीयले भने वर्ष वर्षै अम्कोटको तलमाथिबाट सडक खन्दै गएको र त्यसैकै कारण पहिरो लाग्ने गरेकोले बस्ती व्यवस्थापन नगर्दा सम्म गाउँबाट सडक खन्न नदिने बताएका छन् ।

बुढीगङ्गा नगरपालिका –१ अम्कोटका लक्षीराम पाध्यायले, यहाँका स्थानीय र सरोकारवालाबीच पहिला यो बस्ती पुरैलाई अन्य ठाउँमा व्यवस्थापन गर्ने भनेर गाउँबाट सडक लिने गरी सहमति भएको तर अहिलेसम्म बस्ती व्यवस्थापन नभएकोले सडक निर्माणको काम रोकिएको बताउनुभयो । उहाँले, जब सम्म अम्कोटका १०६ जना घरपरिवारको बस्ती व्यवस्थापन हुँदैन तब सम्म यो वैकल्पिक मार्ग निर्माणको काम रोकिने बताउनुभयो ।

यस अघि अम्कोट बल्दे र द्धवारी सडकमा पहिरोले भत्किएपछि सडक डिभिजन कार्यालय अछामले प्रत्येक वर्षमा तलबाट माथि अस्थायी रुपमा सडक निर्माण गर्दै सवारी साधान सुचारु गर्दै आएको छ । सडक डिभिजनले यसरी प्रत्येक वर्षमा तलबाट सडक भत्किँदै जाने सवारी साधान सुचारु गर्न माथीबाट सडक निर्माण गर्दै जाँदा अहिले अम्कोटको गाउँमै पहिरो पुगेको पाध्यायले बताउनुभयो ।

२०७८-०७९ आर्थिक वर्षमै अम्कोटका स्थानीयलाई बस्ती व्यवस्थापनको कार्यक्रम सुरु गरेको जिल्ला विपत व्यवस्थापन समिति बाजुराले जनाएको छ । बर्खाको समय साँफे–मार्तडी अन्तर्गत पर्ने अम्कोट द्धवारी सडकमा पहिरोले अवरुद्ध हुने भएपछि सहजताका लागि बल्दे अम्कोट वैकल्पिक मार्ग निर्माण गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख पुष्कर खड्काले, अम्कोटका स्थानीयहरूलाई बस्ती व्यवस्थापन गर्नका लागि एक परिवारलाई झन्डै पाँच लाख रुपियाँ घर निर्माणका लागि रकम दिएको बताउनुभयो । उहाँले, घर निर्माणका लागि त्यहाँका स्थानीय पहिलो किस्ता ७५ हजार लिएको र प्राविधिकहरूले दिएको स्टिमेट अनुसार घर निर्माण नगरेकोले दोस्रो किस्ता रकम रोकिएको बताउनुभयो ।