• १५ मंसिर २०८१, शनिबार

राष्ट्रपति पौडेललाई भारत, चीन र अमेरिकाको बधाइ

blog

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौं, फागुन २९ गते। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारत, चीन र अमेरिकाले बधाइ दिएका छन्। 

सोमबार साँझ नेपालका लागि चिनियाँ राजदूत चेन सङ्गले छिमेकी मुलुक चीन सरकारका तर्फबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएकामा पौडेललाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।

उहाँले राष्ट्रपति पौडेल नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गर्नुभएको छ। 

राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य  अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उहाँलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो।

 नवनिर्वाचित राष्ट्रपति पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गर्नुभएको छ।   

यो पनि पढ्नुहोस

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाइ

सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त हुनुभएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाइ ज्ञापन गर्नुभएको हो।     

सो पत्रमा उहाँले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबीच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ।     

सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबीचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गर्नुभएको छ।     

राष्ट्रपति पौडेलको कार्यकालमा उहाँको नेतृत्वमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ।