• १० मंसिर २०८१, सोमबार

दार्चुलामा सस्तिएको भारु

blog

नेपालका सबै भूभागमा नेपाली रुपियाँ (नेरु)को प्रचलनको विगतमा अनेक रूपरङ्ग थिए । भारतमा रोजगारी गर्न गएकाले ल्याउने भारतीय मुद्रा (भारु) धेरैका निम्ति स्वीकार्य हुने गरेको देखिन्छ । हुन पनि नेपाली रुपियाँको धेरै लामो इतिहास नभएका कारण भारुको व्यावहारिक प्रचलनको आफ्न तौरतरिका देखिने गरेको समेत छ । विशेषतः सीमावर्ती क्षेत्रमा भारतीय बजारको प्रभावसँगै भारुको प्रचलन बढी नै देखिन्छ । त्यसैले पनि सीमावर्ती क्षेत्रमा भारतीय मुद्राको मागमा वृद्धि हुनु सामान्य कुरो  हो । धार्मिक यात्रा, पर्यटन, स्वास्थ्योपचार, रोजगारी, किनमेल आदिका सन्दर्भमा भारतीय मुद्रामा माग अत्यधिक हुने गरेको विगत थियो । भारतीय मुद्राको सटही तथा सङ्कलनलाई आकर्षक कारोबारका रूपमा लिइने प्रचलन पूर्ण रूपमा हटिसकेको छैन तर यताका दिनमा कतिपय सीमावर्ती क्षेत्रमा भने कथा फरक देखिन थालेको छ । नेपालका निम्ति त्यो स्वागतयोग्य कुरासमेत हो । 

नेपालका कतिपय भूभागका बस्ती र बजार भारतमै बढी निर्भर छन् । त्यसले भारुमाथिको निर्भरता नेरुको तुलनामा अधिक नै रहेको देखिन्छ । सीमावर्ती तथा तराईका क्षेत्रमा यो स्थिति नियन्त्रणात्मक रूपमा विद्यमान छ । भारतसँग खुला सिमाना, सहजता आदि कारणले विगतदेखि चलिरहेको यो अवस्था यथावत् रूपमा जारी रहेको स्थिति छ । तर नेपालको सीमावर्ती जिल्ला दार्चुलामा भने यो स्थितिमा केही परिवर्तन देखिन थालेको छ । विगतमा भारुको निकै माग हुने यस क्षेत्रमा अहिले भारुप्रतिको आकर्षणमा निकै कमी आउन थालेको देखिएको छ । हाल भारु सङ्कलन गर्ने तथा यसका निम्ति प्रचलित बजार मोलभन्दा बढी मोल तिर्ने प्रवृत्तिमा कमी आएको मात्र होइन, सामान्य किनमेलमा समेत भारुप्रति अरुचि बढेको छ । विगतमा नेरुलाई भारुसँग सटही गर्दा कमिसन दिनुपर्ने अवस्थामा परिवर्तन भएर नेरुमा भारु सटही गर्दा कमिसन तिर्नुपर्ने स्थिति सिर्जना भएको छ । यसले नेपाली रुपियाँ भारुभन्दा बलियो भएको अर्थमा लिने वा परनिर्भरता घटेको रूपमा लिने ?

नेपालको वैदेशिक व्यापारमा भारतकै प्रभाव ठूलो छ । दुई तिहाइ आयात व्यापार भारतमै निर्भर छ । तर दार्चुलाका स्थानीय बजारमा भने भारु नचलाउने तथा चलाउनु नै पर्दा प्रचलित दरअनुसार मोल पाइँदैन । सहर बजारमा मात्र नभएर गाउँघरमा यो स्थिति देखिएको छ । यो नयाँ सन्दर्भमा भारु एक हजार बराबर नेरु एक हजारमा सटही हुने अवस्थासम्म छ । यो स्थिति सिर्जना हुनुमा सरकारी वा कुनै वित्तीय संस्थाको नीतिगत कारणले नभई भारुको स्थानीय माग र आपूर्तिले विशेष भूमिका खेलेको अर्थमा लिइने गरिएको छ । यसमा केन्द्रीय बैङ्कको विनियम भूमिका देखिँदैन । नेरुको तुलनामा भारु कमजोर हुनुमा विशेष गरेर भारतीय निर्भरतामा कमीलाई प्रमुख कारणका रूपमा लिइएको छ । स्वदेशमा नै किनमेलको सुविधा, उपचारलगायत दैनिक आवश्यकीय कार्यमा वृद्धि भइरहेका फलस्वरूप भारुमाथिको आकर्षणमा कमी आएको आमबुझाइ हो । यस सामान्य तथ्यबाट समेत मुलुकको आत्मनिर्भरताको त्यस क्षेत्रमा सबल पक्ष स्पष्ट हुन्छ । 

भारुको आपूर्ति बढी हुनुमा रोजगारीको कारणसमेत छ । रोजगारीका क्रममा भारु भित्रिने कार्य यथावत् रहनु तथा भारतीयको समेत नेपाली बजारमा किनमेल गर्ने क्रम बढ्दै जाँदा पनि स्थानीय तहमै भए पनि भारुको अवमूल्यन सुरु भएको मान्न सकिन्छ । भारतमा नोटबन्दी आदि कारणले ठूला दरका प्रतिबन्धित नोट तथा नक्कली नोटका कारण पनि नेपाली उपभोक्ता चनाखोे भएका फलस्वरूप भारुको प्रचलन तथा सटहीमा कमी आएको तथ्यमा पनि दुईमत छैन । खुलेआम रूपमा विदेशी मुद्राको प्रचलन कानुनी रूपमा क्षम्य मान्न पनि सकिँदैन तथापि भारतसँगको परनिर्भरता आदि कारणले यो बेवास्ताको विषय बनिरहेको कसैबाट लुकेको छैन । 

भारुको प्रचलन तथा कारोबारका कारण सीमावर्ती क्षेत्रका व्यापारमा असरको अवस्था पनि देखिनु अस्वाभाविक होइन । आर्थिक कारोबार पारदर्शी तथा वैधानिक हुनुपर्नेमा दुई मत छैन । यही सन्दर्भलाई लिएर भारुको कारोबारलाई पनि व्यवस्थित तथा वैधानिक परिधिभित्र समेटिनु जरुरी भइसकेको छ । दार्चुलाजस्ता सीमावर्ती जिल्ला तथा क्षेत्रमा विदेशी मुद्रा सटही काउन्टर स्थापना गरेर व्यवस्थित तवरले भारुलगायत विदेशी मुद्राको कारोबार गर्न सकिए व्यापारी, उद्यमी तथा सर्वसाधारण कसैलाई मर्का पर्ने स्थिति आउने थिएन ।