• ११ मंसिर २०८१, मङ्गलबार

परम्परागत पहिरनप्रति महिलाको आकर्षण

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन २९ गते । विशेषगरी क्षत्री समुदायका महिलाले प्रयोग गर्ने परम्परागत पोसाक गाउनप्रति महिलाको आकर्षण बढ्दै गएको छ । परम्परादेखि लगाउँदै आएको पोसाक गाउन बीचको केही समय लोप हुने अवस्थामा पुगेको भए पनि पछिल्लो समय महिलामा सो पोसाकमा चासो बढ्दै गएको हो । 

सिमकोट गाउँपालिका–५ की केसीकला रावतले विवाहित महिलाले अनिवार्य रूपमा लगाउनुपर्ने गाउन (धोती)प्रति पछिल्लो समय आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले घरेलुको धोतीबाहेक अन्य समय जहिल्यै पनि सो गाउन लगाउने गर्दै आउनुभएको छ ।  अधिकांश महिलाले बीचको समयमा गाउन लगाउनै छोडेको भए पनि हाल आएर विशेष अवसर, मेला पर्व र चाडबाडमा भने अनिवार्यजसो गाउन लगाउन थालेपछि यसको महत्व वृद्धि भएको बताउनुभयो । त्यही भएर विवाहित महिलाले एकदेखि दुई जोर गाउन अनिवार्य रूपमा तयार गरेर राख्दै आउनुभएको छ । 

पछिल्लो समय पाका महिला आफैँ पनि गाउनको संरक्षणमा लाग्नुभएको छ । यतिसम्म कि आफ्ना बुहारी, छोरी, बहिनीलाई समेत गाउन तयार गरेर दिने गर्नुहुन्छ भने विशेष अवसरमा गाउन लगाउन पनि उहाँहरूलाई हौस्याउने गर्दै आउनुभएको छ । संस्थागत रूपमा गाउनको संरक्षणमा केही प्रयास नभएको भए पनि महिलाहरू आफ्नै तवरबाट यसको संरक्षण र पछिल्लो पुस्तालाई लगाउनका लागि प्रेरित गर्दै आएको रावतले बताउनुभयो । उहाँले छोरी र बहिनीलाई गाउन तयार गरेर उपहारसमेत दिनुभएको छ ।