नवराज कट्टेल
विराटनगर, फागुन २८ गते । विराटनगरको बसपार्कस्थित अन्नपूर्ण सप्लायर्सले डिजेल र पेट्रोल बिक्री गर्छ। नेपाल आयल निगमको आधिकारिक बिक्रेता रहेको पम्पको संरचना भने पुरानो र असुरक्षित छ। पहुँचको बोलवालाका कारण आयल निगमबाट आउने अनुगमन र नियमन पनि खासै भरपर्दो नहुँदा मापदण्ड देखाउनका लागि मात्रै पूरा गरेको छ। अन्नपूर्णदेखि एक सय मिटर उत्तर–पश्चिमतर्फ एसलाल पेट्रोल पम्प छ। मुख्य राजमार्गसँगै जोडिएको यो पम्प पनि मापदण्डअनुसार छैन।
एसलालदेखि ५० मिटर दुरीमा यदुनाथ, दुई सय मिटरको दूरीमा पूर्वाञ्चल आयल सप्लायर्स छ। त्यसपछि विराटनगर–२ स्थित विराट नर्सिङ होम नजिक पारस पारख सञ्चालक रहेको अर्को पम्प संरचना छ। यी पम्पको दुरी नेपाल आयल निगम लिमिटेडको पेट्रोलिम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसारको मापदण्डमा छैनन्।
विराटनगरका अधिकांश पम्प संरचना घर र राजमार्गसँगै जोडिएका छन्। साँघुरो क्षेत्रमा सञ्चालित पम्पको वितरण प्रणाली उत्तिकै असुरक्षित छन्। त्यसबाहेक सेवाग्राही केन्द्रित संरचना छैनन्।
शौचालय र पिउने पानीसमेत छैन। भए पनि मापदण्डमा तोकिएअनुसार र प्रयोगका लागि नभई नियमनका लागि देखाउनका लागि मात्रै छन्।
नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसार प्रत्येक पेट्रोलपम्पका न्यूनतम सुरक्षा मापदण्ड तोकिएको छ। अति प्रज्ज्वलनशील पदार्थ वितरण गर्ने पम्पका संरचना र वितरण प्रणाली सुरक्षित बनाउन निगमले मापदण्ड बनाए पनि पूरा भएको छैन।
विराटनगरमा पम्पको भण्डारण र वितरण घरसँगै जोडिएका संरचनाबाट हुने गरेको छ। यदि कुनै कारणवश आगलागी भए त्यसले घनाबस्तीमा पार्ने क्षति यकिन गर्न नसकिने अवस्था छ। जसले ‘खतराको घण्टी’ बजाइरहे पनि त्यसको निगमन र व्यवस्थापनमा खासै चासो छैन।
नेपाल आयल निगम प्रादेशिक विराटनगरका प्रमुख अशोक साहले चालू आर्थिक वर्षको अन्त्यसम्ममा नमुना पम्पबाहेक बाँकी पुराना पम्पको पुनर्संरचना गर्ने अवधी दिइएको छ। यो अवधीमा काम नभए त्यस्ता पम्पविरुद्ध कारबाही सुरु गर्ने दाबी छ। मोरङमा ५२ वटा पम्पमध्ये एउटा मात्रै नमुना संरचना भएको छ। बाँकी पम्प साधारण संरचनामा रहेका छन्। “मापदण्डभित्र ल्याउनका लागि हामीले दिएको म्यादसम्म पर्खिरहेका छौँ,” साहले भन्नुभयो। यसको विषयमा निगमले चासो राखेको छ।
छैन पिउने पानी र शौचालय
विराटनगरका पम्प संरचना क्षेत्रमा शौचालय र पिउने पानीको सुविधा छैन। देखाउनका लागि रहेका
शौचालय प्रयोग गर्नसक्ने अवस्थाका छैनन्। सेवाग्राहीका लागि सफा र खुला हुनुपर्ने शौचालयमा ताला कसिएको हुन्छ। पिउने पानी सर्वसाधारणका लागि छैन। सेवाग्राहीले पानी पिउने इच्छा राखे सहज पाउँदैनन्। सञ्चालकले अफिसभित्र राखेको पानी पम्पका कामदारले देखाउनै सक्दैनन्। घरसँगै रहेका पम्प संरचनामा शौचालय पनि भित्रको एउटा छुट्याइएको छ। सेवाग्राहीले शौचालय सोधे त्यो पनि कामदारले देखाउन सक्दैनन्। घरभित्रैका कुनै शौचालयलाई देखाएर निगमन र अनुगमन टार्ने सञ्चालक सेवाग्राहीमुखी नहुँदा समस्या थपिँदो छ।
नेपाल आयल निगम लिमिटेडको पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ अनुसार बिक्री स्थलमा पुरुषको हकमा न्यूनतम दुईवटा शौचालयसहित चारवटा युरिनल र महिलाको हकमा चार शौचालय, अपाङ्गमैत्री एउटा शौचालय बत्तीसहितको व्यवस्था हुनुपर्ने उल्लेख छ। यसैगरी स्वस्थ्यकर पिउने पानी राखिनुपर्ने व्यवस्था छ। पानीको डिस्पेन्सरसहित बिक्री कक्षबाट निःशुल्क शुद्ध पिउन पाउनुपर्ने सेवाग्राहीको अधिकार हुन्छ तर अफिस प्रयोजनका लागि राखिएको पानी देखाएर झारा टार्ने गरे पनि सर्वसाधारणका लागि पानी काउन्टर छैन।
पार्किङस्थल, एटीएम वा डिजिटल कार्डबाट भुक्तानीको सुविधा, गाडीको टायरमा हावा भर्ने सुविधा, मर्मत सम्भार तथा सरसफाइका लागि सेड, प्राथमिक स्वास्थ्य उपचार गर्न मिल्ने फस्ट एडका सामग्री अनिवार्य राखिनुपर्ने मापदण्डमा उल्लेख छ।
विराटनगरको एसलाल पेट्रोल पम्पका सुनील बिडलाले सबैका लागि पानी र शौचालयको सुविधा रहेको दाबी गर्नुभयो। बाहिर फोहोर हुने भएका कारण अफिसभित्र पानी राखिएको उहाँले बताउनुभयो। यस्तै पूर्वाञ्चल सप्लायर्सका महेशकुमार अग्रवालले पुरानो पम्प संरचना भएका कारण कतिपय कुरा नमिले पनि सेवाग्राहीले चाहेको खण्डमा सुविधा दिन सकिने दाबी गर्नुभयो।