• २१ पुस २०८१, आइतबार

लिजेन्ड्स लिग क्रिकेट : पारसको एसिया लायन्स विजयी

blog

लिजेन्ड्स लिग क्रिकेटमा प्रतिस्पर्धा गर्दै पारस खड्का ।

 काठमाडौं, फागुन २७ गते । नेपालका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लिजेन्ड्स लिग क्रिकेट (एलएलसी) २०२३ मा विजयी सुरुवात गरेको छ ।

कतारको दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा शुक्रबार राति भएको खेलमा एसिया लायन्सले इन्डिया महाराजासलाई नौ रनले हरायो । 

जितका लागि एसिया लायन्सले दिएको एक सय ६६ रनको विजयी लक्ष्य पछ्याएको इन्डिया महाराजासले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो । 

इन्डिया महाराजासका लागि कप्तान गौतम गम्भीरले सर्वाधिक ५४ रन बनाउनुभयो । मुरली विजयले २५, मोहम्मद कैफले २२, इर्फान पठानले १९ र युसुफ पठानले १४ रन जोड्नुभयो । 

बलिङमा एसिया लायन्सका सोहेल तनविरले तीन विकेट लिनुभयो । अब्दुल रजाक, इसुरु उडाना, तिलकरत्ने दिलशान र थिसरा परेराले एक एक विकेट झार्नुभएको थियो । 

यसअघि टस जितेर ब्याटिङ रोजेको एसिया लायन्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो । एसिया लायन्सका लागि मिस्बाह उल हकले सर्वाधिक ७३ रन बनाउनुभयो । 

उहाँले ५० बलमा चार छक्का र दुई चौकाको सहयोगमा उक्त रन जोड्नुभएको हो । उपुल थरंगाले ४०, कप्तान साहिद अफ्रिदीले १२ र नेपालका पूर्व कप्तान पारस खड्काले अविजित तीन रन जोड्नुभयो ।

बलिङमा इन्डिया महाराजासका रवीन्द्र अवाना र स्टुअर्ट बिन्नीले दुई दुई तथा इफरान पठान र अशोक डिन्डाले एक एक विकेट लिनुभयो । एसिया लायन्सले  अब सोमबार वर्ल्ड जायन्टससँग प्रतिस्पर्धा गर्नेछ ।