• २० वैशाख २०८१, बिहिबार

एमालेबाट अष्टलक्ष्मी शाक्य उपराष्ट्रपतिको उम्मेदवार

blog

नेकपा (एमाले)का पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य । फाइल तस्बिर

काठमाडौं, फागुन २७ गते । नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो ।

उहाँले गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेको सन्दर्भलाई लिएर राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एकजना महिला हुनुपर्ने कुरालाई अन्देखा गर्न नमिल्ने जानकारी दिनुभयो । उपमहासचिव ज्ञवालीले पुरुषलाई नै दुई वटै पदमा उठाउने कुरा संविधान विपरीतको कुरा भएको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘‘यो बैठक एउटा मात्रै एजेण्डामा केन्द्रित थियो । चैत्र ३ गते हुने उपराष्ट्रपतिका लागि पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेका छौँ । हामीले तल गाउँपालिका, नगरपालिकादेखि नै अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुखमध्ये एक जना महिला अघि सारेका छौँ । पुरुषलाई नै दुई वटैमा उठाउने कुरा संविधान विपरीतको कुरा हो । त्यसो गर्न मिल्दैन ।’’ उपराष्ट्रपति पदका लागि आज (शनिबार) निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।