अर्जुन काफ्ले
स्याङ्जा, फागुन २७ गते । देशका कतिपय स्थानमा सङ्घीयताको विरोध गरिरहँदा स्याङ्जाको कर्णालीका रूपमा परिचित कालीगण्डकी गाउँपालिकाले भने देशको पछिल्लो राजनीतिक संरचना परिवर्तनपछि विकासमा फड्को मारेको छ।
स्रोतको पहुँच कम भएको यो पालिकामा सरकारबाट प्राप्त बजेटलाई सदुपयोग गरिएपछि विकासले गति लिएको जनप्रतिनिधिको दाबी छ। पालिकामा गएको पाँच वर्षमा साढे पाँच अर्ब रुपियाँ बराबरका योजना सम्पन्न गरिएको पालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो। पाँच वर्षमा ३२ किलोमिटर सडक कालोपत्रे भएको छ भने आगामी एक वर्षमा ४२ किलोमिटर सडक थप पिच हुने अवस्थामा पुगेको थापाले बताउनुभयो।
पालिकाको वडा नं. २ बाहेक सबै वडा कार्यालयसम्म कालोपत्रे सडकले जोडिएको छ। वडा नं. २ को कार्यालयमा पनि यो आर्थिक वर्षभित्र कालोपत्रे हुने उहाँले बताउनुभयो। पालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारको विषयमा महत्वपूर्ण प्रगति गरेको उहाँको दाबी छ।
पालिकाभित्र रहेका एक दर्जन पर्यटकीय गन्तव्यका लागि २५ करोडको डीपीआर बनाएर काम भइरहेको बताइएको छ। पालिका आफैँले २४ रोपनीमा ड्रागन फुड लगाएर कृषकलाई प्रोत्साहन गरेको छ भने पालिकामा जन्मेका सबैलाई निःशुल्क स्वास्थ्य बीमा लागू गरिएको छ। यहाँ पालिकालाई ग्यास चुलो मुक्त बनाउने योजनामा इन्डक्सन चुलोलाई प्राथमिकतामा राखिएको छ।
पालिकामा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दा निजी विद्यालयमा विद्यार्थी घट्दै गएको थापाको भनाइ छ। कालीगण्डकीमा रहेका ३९ विद्यालयमध्ये ३५ वटा सामुदायिक र चारवटा मात्र संस्थागत विद्यालय छन्। पालिकामा सबै काम विवादरहित ढङ्गले जनतामा पुगेर काम गर्ने गरेको बताउँदै गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले जनता नै जनप्रतिधिको सर्वोपरि रहेको बताउनुभयो।
यहाँ ‘एक घर एक धारा’ अभियानलाई प्राथमिकतामा राखेर सबै नागरिकलाई पानी खुवाउने काम अन्तिम चरणमा पु-याएको छ। पालिकामै सबै स्वास्थ्य सेवा दिने उद्देश्यले १५ शøयाको अस्पताल बनाइँदै छ। पालिकामा सबै वडामा वडा कार्यालय बनेको छ भने पालिकाको आफ्नो नयाँ भवन बनेको छ।