• १० मंसिर २०८१, सोमबार

उम्मेदवार नेम्वाङको राष्ट्रपति निर्वाचन खर्च १६ हजार पाँच सय

blog

नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङ । फाइल तस्बिर

काठमाडौं, फागुन २६ गते । राष्ट्रपति पदमा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन खर्च बुझाउनुभएको छ ।

नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका प्रमुख निर्वाचन अधिकृत महेशकुमार बर्तौलाले शुक्रबार दिउँसो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको हो ।

नेम्वाङको खर्च विवरणमा प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा एसएमएस गरेको रकम १० हजार रुपियाँ र विविध मसलन्द रकम छ हजार पाँच सय रुपियाँ खर्च भएको उल्लेख छ ।

राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । राष्ट्रपति पौडेलले प्रतिनिधिसभसा सांसदको २१४ र प्रदेशसभा सदस्यको ३५२ मत पाउनुभएको थियो ।

यसैगरी, नेम्वाङले प्रतिनिधिसभा सांसदको ९८ र प्रदेशसभा सांसदको १६२ मत ल्याउनुभयो । राष्ट्रपतिका उम्मेदवारले प्राप्त गरेको मत सङ्ख्यालाई सङ्घको मतभार ७९ र प्रदेशको मतभार ४८ ले गुणन गरेको फल कुल मत हो ।

जसअनुसार राष्ट्रपति पौडेलले ३३ हजार ८०२ र पराजित हुनुभएका नेम्वाङले १५ हजार ५१८ कुल मत ल्याउनुभएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राष्ट्रपति पौडेलको निर्वाचन खर्च सम्बन्धको जिज्ञासामा यो ३५ दिनभित्र बुझाउनुपर्ने प्रावधान रहेकाले समय अझै बाँकी रहेको जानकारी दिनुभयो ।