• १५ मंसिर २०८१, शनिबार

राष्ट्रपतिले संविधानबाहिर गएर काम गर्नुहुन्न : नेता रिजाल

blog

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल ।

काठमाडौं, फागुन २६ गते। नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबाहिर गएर राजनीतिक साक्षीको रुपमा काम नगर्ने बताउनुभएको छ।

 नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर गएर गठबन्धन राजनीतिको साक्षीको रुपमा काम नगर्ने स्पष्ट पार्नुभएको हो। उहाँले राष्ट्रपतिले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम नगर्ने स्पष्ट पार्नुभएको हो। 

शुक्रबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले गठबन्धनमा भएका शर्तको जिम्मा राष्ट्रपतिले लिएर सोही अनुसार भूमिका गर्नुपर्छ भन्ने नसोच्न सुझाव दिनुभयो। गठबन्धनका बीचमा भएको शर्त कार्यान्वयन गर्ने जिम्मेवारी राष्ट्रपतिको नभएको उहाँको भनाइ छ। नेता रिजालले गठबन्धनका बीचमा भएका सहमति कार्यान्वयन पार्टीले गर्ने र त्यसका लागि नेपाली कांग्रेस इमानदार हुने बताउनुभयो।

उहाँले राष्ट्रपति पौडेल गठबन्धनको परिधिभित्र नबस्ने बताउनुभयो। पौडेल आफ्नो पूर्व पार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि नबस्ने स्पष्ट पार्नुभयो। संविधानको परिधिभित्र बस्ने र संविधानको भावनाभन्दा बाहिर गएर कुनै भूमिका नखेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। 

उहाँले भन्नुभयो, ‘‘सुयोग्य व्यक्ति राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको छ। यो संविधानलाई पूर्ण रुपमा आत्मसात गरेको मान्छे। यो संविधानभन्दा बाहिर रत्ति पनि विचार नराख्ने मान्छे समकालीन राजनीतिमा अरु कोही देखेको छैन। रामचन्द्र पौडेल जति संविधानप्रति प्रतिबद्ध कुनै पनि पार्टीमा अर्को नेता देखेको छैन। रामचन्द्र पौडेलले संविधानको भावनाभन्दा बाहिर गएर राष्ट्रपतिको भूमिका गर्नुहोला भन्ने मलाई लाग्दैन। संविधानले परिकल्पना गरेको राष्ट्रपतिको भूमिकाभन्दा बाहिर जानुहुन्न भन्ने विश्वास गर्ने बलियो आधार छ। उहाँको पुरानो पार्टी नेपाली कांग्रेसको परिधिभित्र पनि बस्नुहुन्न। अहिलेको गठबन्धनको परिधिभित्र पनि बस्नुहुन्न। उहाँले बस्ने परिधि भनेको नेपालको संविधानले देखाएको परिधि मात्रै हो।’’