• १३ साउन २०८१, आइतबार

राष्ट्रपति निर्वाचनको मतगणना सुरु

blog

संघीय संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनको मतगणना ।

काठमाडौं, फागुन २५ गते । नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।

आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा तीन सय १३ सङ्घीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व सभामुखसमेत रहनुभएका पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार हुनुहुन्छ । साथै अर्का पूर्व सभामुख नेम्वाङलाई एमालेको साथ छ ।

राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचनमण्डलबाट हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् । सङ्घीय सांसदको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ छ ।  रासस