• १२ मंसिर २०८१, बुधबार

बालिका दाम्लोमा : न खाने गाँस छ, न बस्ने घर

blog

छ वर्षीय बालिका करिश्मा भट्ट । तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल 

बैतडी, फागुन २५ गते । स्वतन्त्र भएर खेल्ने रमाउने उमेरमा ६ वर्षीय बालिका सलको दाम्लोमा बाँधिएको अवस्थामा फेला परेकी छन् । तीन वर्षसम्म अँध्यारो कोठामा थुनिएकी करिश्मा भट्ट छिमेकीको सहयोगमा दाम्लोसहित घरको आँगन देख्ने अवसर पाइन् । बालिकाको बुवाको रुखबाट लडेर कम्मर भाँचिएको छ । 

बस्ने घर नहुँदा उहाँ छिमेकी गोठमा सुतिरहनुभएको छ । बालिकाको मानसिक अवस्था ठीक नभएको भन्दै छिमेकीको घरको झ्यालमा पशुझैँ बाँधेर राखिएको छ । बैतडीको दशरथचन्द नगरपालिका –५, नौहाट गाउँकी ती बालिकाको स्वास्थ्य अवस्था कमजोर छ । 

बालिकाको ३० वर्षीय बुवा सुरेश भट्टको स्याउला काट्दा दुई महिनाअघि रुखबाट लडेर कम्मर भाँचिएको थियो । उहाँकी छ वर्षीय बालिका करिश्मा भट्ट बोल्न नसक्ने र घरबाट भागेर जाने भएकाले बाँधेर राखिएको बालिकाकी आमा दुरादेवी भट्टले बताउनुभयो । 

आर्थिक अभावकै कारण पतिको उपचार हुन नपाएको उहाँले बताउनुभयो । दुरादेवीले भन्नुभयो, “एक छोरीको पनि मानसिक अवस्था ठीक छैन । बाँधेर नराखे घरबाट भागेर जान्छे । आफ्नो बस्ने घर छैन । छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छौँ ।” 

खेल्ने रमाउने उमेरमा छ वर्षकी बालिका पशुजस्तै बाँधेर राखिएको छ । उपचार गर्न परिवारसँग खर्च नभएको पायौं । 

परिवारका अनुसार बालिका छ महिनाको हुँदा निमोनिया भएको थियो । ऋण निकालेर बुवा सुरेश भट्टले बालिकालाई उपचारका लागि भारतको पिथौरागढ लगिएको थियो । उपचार गरेर फर्किएपछि बालिका हुर्कँदै गए पनि बोल्न नसक्ने र भागेर हिँड्न थालेपछि बाँधेर राखिएको उहाँले बताउनुभयो । 

घर परिवारमा बालिकाको राम्रोसँग हेरचाह र उपचार गर्ने मानिस नहुँदा बालिकालाई तीन वर्षसम्म घरको अँध्यारो कोठामा थुनेर राखिएको छिमेकी ६५ वर्षीय जानकी भट्टले बताउनुभयो । कालकोठरीजस्तो अँध्यारो कोठामा बालिकाले पाएको प्रताडना देख्न नसकेर कोठाबाट आँगनमा लिएर आएको उहाँले बताउनुभयो ।

“बिचरीले राम्रोसँग उपचार नै पाइएन । आमा बुवाको बस्ने घर छैन” छिमेकी जानकीले भन्नुभयो, “त्यसमाथि रुखबाट लडेर उनको बुवाको कम्मर भाँचिएको छ । घरमा खाने अन्न छैन । बालिका भोक लागे पनि बोल्न सक्दिनन् । रोटी पकाएको बेला खान दिने गरेकी छु ।” 

छ वर्षीय बालिकालाई भोकभोकै बाँधेर राखेको खबर बाहिर आएपछि दशरथचन्द नगरपालिका –४, स्थित रोयल हिलयूथ क्लबको अगुवाइमा बालिकाको परिवारलाई खाद्यान्न प्रदान गरिएको छ । 

समाचार सङ्कलनका लागि बालिकाको घर नौहाट गाउँ पुग्दा बालिकालाई छिमेकीको घरको आँगनको भुइँतलाको झ्यालमा बाँधेर राखिएको भेटिइन् । यूथ क्लबका अगुवाले बिस्कुट खान दिएपछि बालिकालाई दाम्लोबाट फुकालिएको थियो । आमाले कचौरामा पानी ल्याइदिएपछि छ वर्षीय करिश्माले पानीमा चोब्दै बिस्कुट खाइन् । 

“बालिकाको अवस्थाले धेरैको मन रोयो” रोयल हिल यूथ क्लबका मोहित भण्डारीले भन्नुभयो, “खेल्ने रमाउने उमेरमा छ वर्षकी बालिका पशुजस्तै बाँधेर राखिएको छ । उपचार गर्न परिवारसँग खर्च नभएको पायौँ । होली खेलेर सङ्कलन भएको रकमबाट केही महिना पुग्नेगरी खाद्यान्न दिएर आएका छौँ ।”  

खाद्यान्न वितरण कार्यक्रममा सहभागी दशरथचन्द नगरपालिका –५, का वडा अध्यक्ष केशव लेखकले बालिकाको उपचार सम्भव भएको चिकित्सकले सल्लाह दिए पनि परिवारको आर्थिक अवस्था दयनीय भएको बताउनुभयो । उहाँले वडा कार्यालयबाट बालिकालाई सामाजिक सुरक्षा भत्ताका लागि सिफारिस गरिएको बताउनुभयो । 

बालिकाकी आमा दुरादेवी भट्टले छोरीको उपचार गर्ने धोको भए पनि आर्थिक अभावका कारण उपचार गर्न नसकिएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “वडासँग सिधै बजेट दिने अधिकार छैन । अपाङ्गताको परिचयपत्र बनाउन डाक्टरको लिखित कागज चाहिने भएकाले बालिकालाई अस्पताल लगिएको थियो । कागजात बनेको छ । अब बालिकाले भत्ता पाउने छिन् ।” 

भगवानले पनि गरिबलाई दुःखमाथि दुःख थप्ने रहेछ भन्दै बालिकाका बुवा सुरेश भट्टले आफू ओछ्यानमा लडेकाले उपचारका लागि कहीँ कतैबाट पनि सहयोग नपाएको पीडा सुनाउनुभयो । 

बालिकाकी आमा दुरादेवी भट्टले छोरीको उपचार गर्ने धोको भए पनि आर्थिक अभावका कारण उपचार गर्न नसकिएको बताउनुभयो । छोरी र श्रीमानको उपचार गरिदिने कोही मनकारी भेटिए भगवान् पाएकोजस्तो हुने उहाँले बताउनुभयो ।