• १३ साउन २०८१, आइतबार

दिउँसो चार बजेदेखि मतगणना सुरु हुने

राष्ट्रपतिको मतदान सकियो : संघमा ३१३ र प्रदेशतर्फ ५१८ मत खस्यो

blog

सङ्घीय संसद भवनमा भएको राष्ट्रपति निर्वाचन । तस्बिर : केशब गुरुङ

काठमाडौं, फागुन २५ गते।  राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभातर्फ तीन सय १३ र प्रदेशतर्फ ५१८ जनाले मतदान गरेका छन् । बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार दिउँसो ३ बजेसम्ममा राष्ट्रपति निर्वाचनको मतदानको कार्य अन्तिम चरणमा पुगेको हो।

शर्माले गोरखापत्र अनलाइनसँग भन्नुभयो, “मतदान सकिएको छ। मत पेटिका सिलबन्दी गर्न थालिसक्यो। सङ्घतर्फ ३१३ र प्रदेशतर्फ ५१८ जनाले मतदान गर्नुभएको छ।”

यसअघि राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले सङ्घीय संसद्का ३३१ र प्रदेश सभाका ५५० गरी जम्मा ८८१ मतदाता नामावली प्रकाशन गरेको थियो। 

कार्यालयमा अनुसार दिउँसो ४ बजेदेखि मतगणना सुरु हुनेछ। मतगणनामा राष्ट्रपति उम्मेदवारका निर्वाचन प्रतिनिधि र एक–एक जना गणना प्रतिनिधि रहनुहुनेछ। 

राष्ट्रपति निर्वाचनको उम्मेदवारको पक्षमा परेको मतगणनापछि विजयी उम्मेदवारलाई आज नै प्रमाणपत्र वितरण गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

राष्ट्रपति पदमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ दुई जना उम्मेदवार हुनुहुन्छ। 

पौडेलललाई नौ दलको समर्थन रहेको छ भने नेम्वाङ एमालेका तर्फबाट एकल उम्मेदवार हुनुहुन्छ। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतले मतदान नगर्ने घोषणा गरेका छन्।