• १९ असार २०८१, बुधबार

आठराई त्रिवेणीले जित्यो उपमेयर कप उपाधि

blog

ट्रफीका साथ उपाधि विजेता आठराई त्रिवेणीका खेलाडी । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन २५ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न उपमेयर कप महिला फुटबलको उपाधि आठराई त्रिवेणी गाउँपालिकाले जितेको छ । बुधवार भएको फाइनलमा आयोजक फुङ्लिङ नगरपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै आठराई त्रिवेणीले प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको हो । 

उपाधि जितसँगै आठराई त्रिवेणीले एक लाख ११ हजार रुपियाँ राशिको नगद पुरस्कारसहित तीनवर्षे रनिङ कप र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको फुङ्लिङ नगरपालिकाले भने नगद ५५ हजार ५०० रुपियाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपर्यो । 

मेरिङ्देन र सिरिजङ्घा गाउँपालिकालाई सान्त्वना पुरस्कारस्वरूप नौ हजार रुपियाँका दरले नगद प्रदान गरिएको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार रनिङ कप १०० तोला चाँदी र आधा तोला सुन जडित छ । 

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर आयोजना गरिएको प्रथम उपमेयर कप फुटबल प्रतियोगितामा जिल्लाका नौमध्ये मैवा खोलाबाहेक आट स्थानीय तहले सहभागिता जनाएका थिए । प्रतियोगिता आइतबार सुरु भई बुधवार सम्पन्न भएको हो ।