• १२ वैशाख २०८१, बुधबार

नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ

blog

काठमाडौँ, फागुन २५ गते । महिला कलाकारले विभिन्न कार्यक्रममा सहभागिता जनाएर ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएका छन् । धैरैले समाजिक सञ्जालमार्फत सम्पूर्ण नारीलाई नारी दिवसको शुभकामना पनि दिनुभएको छ । 

आफूले प्रत्यक्ष सहभागिता जनाउन नपाए पनि सामाजिक सञ्जालमार्फत शुभकामना दिएको नायिका श्वेता खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मलाई हरेक दिन नारी दिवसजस्तै लाग्छ । जहाँ नारीको सम्मान हुन्छ त्यो घर, समुदाय, राष्ट्र राम्रो हुन्छ । त्यसैले नारीको सम्मान हरेक क्षेत्रबाट हुनुपर्छ ।” 

नारी दिवसको कार्यक्रममा सहभागी कलाकार मिथिला शर्मा नारी दिवसलाई विशेष महत्व दिने गर्नुहुन्छ । नारी दिवसको उपलक्ष्यमा सबैलाई शुभकामना दिँदै उहाँले भन्नुभयो, “पुरुष र महिला दुवै समान हुन् भन्ने सोच्छु ।” प्रकृतिले समान हिसाबले बनाएकाले हाम्रा अधिकारहरू पनि समान छन् भन्ने धारणा शर्माको छ  । तर अहिले पनि मानसिक, शारीरिक, आर्थिक र विभिन्न नाममा महिलामाथि हिंसा भइरहेकाले त्यसलाई निर्मूल पार्न सरकारले नै गतिलो कदम चाल्नुपर्ने विचार कलाकार शर्माको छ ।  

नारी सशक्त हुन आफूमा भएको सीप र प्रतिभा देखाउन नायिका भुवन चन्द जोड दिनुहुन्छ । नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण महिलालाई शुभकामना दिइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, “चलचित्र क्षेत्रमा पनि महिला निकै माथि उठेका छन् । महिला निर्देशक कम हुन्थे । अहिले महिलाहरू थपिनुभएको छ ।” 

नायिका केकी अधिकारी भने नारी दिवस नमनाउने बताउनुहुन्छ । तर आफूलाई प्रेरणा दिने र लैङ्गिक समानताको पक्षमा काम गर्ने विश्वका सारा मानिसप्रति आभार प्रकट गर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “मलाई आज नारी अधिकारबारे जानकारी नै नभएकाहरूको सम्झना आइरहेको छ। उहाँहरूको अवस्थालाई माथि उठाउन जरुरी छ।” “नारी अधिकार भनेको लैङ्गिक समानता हो। महिलाले पुरुषसरह अवसर पाउने प्रबन्ध हो। अधिकारको सवालमा सबै समान हुन्छन्। जो अधिकारबाट वञ्चित छ, उसले न्याय पाउनुपर्छ। म आरक्षणको विरोधी हुँ,” उहाँको भनाइ छ ।

“पहिले आफ्नै लागि केही गर्न सकियो भने त्यो ठूलो कुरा हुन्छ। मैले कसैसँग झुकेर वा दबिएर काम गरिनँ भने यो अरूका लागि पनि प्रेरणा बन्छ,” अधिकारी भन्नुहुन्छ, “सबैले आफूलाई बलियो बनाउँदै लगे समाज धेरै हदसम्म अनुशासित हुन्छ।”