कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन २४ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘नो हर्न’ घोषणाको तयारी गरिएको छ । समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाइ अभियानको १०० औँ दिन पूरा भएसँगै आगामी १ गते मूल समारोह गरेरै तिलोत्तमालाई ‘नो हर्न नगर’ घोषणा गरिन लागिएको हो ।
चैत्र १ गतेदेखि नगरक्षेत्रको सिद्धार्थ राजमार्ग तथा भित्री सबै सडकमा हर्न बजाउन पाइने छैन । हर्न बजाए जरिवाना तोकिने गरी तयारी अघि बढेको नगर प्रमुख रामकृष्ण खाणले जानकारी दिनुभयो ।
तिलोत्तमा मुलुककै उत्कृष्ट नगरपालिका भएर पुरस्कृत समेत भैसकेको छ । नगरले सप्ताहव्यापी कार्यक्रमसहित सरसफाइ अभियानको सयौँ संस्करण मनाउन लागेको जनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन २५ गते टेलिभिजन बहस कार्यक्रम, २६ गते विद्यालयस्तरीय वक्तृत्वकला तथा कला प्रदर्शनी प्रतियोगिता, २७ गते नगरस्तरीय सरसफाइ र रक्तदान कार्यक्रम गरिने नगर प्रमुख खाणले बताउनुभयो ।
फागुन २८ गते सामुदायिक, संस्थागत विद्यालय तथा कलेज परिसर र शौचालय सरसफाइ, २९ गते आनन्दवन शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सहकार्यमा लक्षित समुदायलाई एक हजार थान कम्पोष्टविन वितरण र ३० गते मानव साङ्लोसहित सिक्स लेन सडक सरसफाइ गरिने उपप्रमुख जगेश्वरदेवी चौधरीले बताउनुभयो ।
अभियानको १०० औँ शृङ्खलामा विभिन्न जातजाति तथा सांस्कृतिक झाँकी प्रदर्शन तथा अभियानमा सहभागी व्यक्तिलाई सम्मान गरिने भएको छ । सोही दिन नगरमा कुहिने र नकुहिने फोहोर अलग–अलग उठाउने कार्यक्रमको सुरुवात गरिने जनाइएको छ ।