• ११ मंसिर २०८१, मङ्गलबार

अमेरिकामा चार हप्तामा एक लाखभन्दा बढी बालबालिकालाई कोभिड सङ्क्रमण

blog

लस एञ्जलस, फागुन २४ गते । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख छ हजार जना बालबालिका कोभिडको सङ्क्रमणमा परेका हुन् ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र चिल्ड्रेन्स हस्पिटल एसोसिएसनले मङ्गलबार प्रकाशन गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ । यहाँ कोभिडको सङ्क्रमण सुरु भएपछि एक करोड ५५ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भइसकेको पनि उक्त विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो हप्तामात्र (मार्च २ सम्म) यहाँका १९ हजार बालबालिकालाई कोभिड सङ्क्रमण भएको थियो । यस अघिका हप्ताहरूमा कम्तीमा पनि २५ हजार बालबालिका कोभिडको सङ्क्रमणमा परेका बताइएको छ ।

अमेरिकामा पछिल्लो समय कोभिडको सङ्क्रमण दर घटेको बताइएको भए पनि बालबालिकामा भने सङ्क्रमण भई नै रहेको बताइएको छ । त्यसैले यहाँका चिकित्सकहरूले कोभिडबाट सङ्क्रमित भएकाहरूको उमेर अनुसारको तथ्याङ्क लिनुपर्ने आवश्यकता रहेको बताएका छन् । रासस/सिन्ह्वा