• ८ वैशाख २०८१, शनिबार

सरकारद्वारा महिला पाइलटलाई स्वागत

नेपाली महिला पाइलटद्वारा पहिलो अन्तर्राष्ट्रिय उडान

blog

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गर्नुुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती । तस्बिर : रासस

काठमाडौं, फागुन २४ गते । सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडान गर्ने महिला विमानचालक (पाइलट) लाई स्वागत गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज (बुधबार) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महिला विमान चालक दललाई स्वागत गर्नुभएको छ ।

काठमाडौं–दुबई–काठमाडौं उडान भरेका महिला चालक दललाई हौसला र प्रोत्साहन दिलाउन पर्यटनमन्त्री विमानस्थल पुगेर स्वागत गर्नुभएको हो ।

महिला विमान चालकलाई विमानस्थलमा स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पर्यटनमन्त्री किरातीले नेपालको उड्डयन क्षेत्रको इतिहासमा पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेर नयाँ इतिहास कायम गरेको बताउनुभयो ।

महिलाहरूको अन्तर्राष्ट्रिय उडानले पर्यटन मात्र नभएर मुलुकको समग्र क्षेत्रमा सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । “पर्यटनमा मात्रै होइन, यो उडानले नेपालकै उड्डयनको इतिहासमा पहिलो चोटि महिलाहरूले उडाएको जहाज ऐतिहासिक छ र आज एक सय १३औँ विश्व महिला दिवस भएकाले मैले उहाँहरू (महिला विमान चालक दल) लाई स्वागत तथा बधाई दिएको र उहाँहरूको मनोबल उच्च बनाउन विमानस्थल गएको हुँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो ।

यो उडानमार्फत पनि महिलाहरूले देश समाजका लागि केही गर्न सक्छन् भन्ने प्रमाणित भएको मन्त्री किरातीले उल्लेख गर्नुभयो ।

निगमको उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान (काठमाडौंदेखि दुबई भएर पुनः काठमाडौं) भरेका हुन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सिर्जना राउतको टोलीले काठमाडौं–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला चालक दलले आज निगमको एयरबस ‘ए’ ३२० जहाज दुबईबाट काठमाडौंको उडान भरेका हुन् । दुई महिला पाइलटले निगमको एयरबस ‘ए’–३२० जहाज गत फागुन २० गते राति ११ बजे काठमाडौंबाट दुबईका लागि उडान भरेका थिए ।

निगमको आजको दुबई–काठमाडौं उडानको ‘ए’ ३२० जहाज पाइलट भावना पन्त र को–पाइलट सृजना रावतले उडाउनुभएको थियो । यो उडानका सबै क्रू मेम्बर महिला थिए । विमान परिचारिका (एयरहोस्टेस) समेत सबै महिला रहेको निगमले जनाएको छ ।

निगमले आफ्नो उडान इतिहासमै पहिलो पटक महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेको जनाएको छ । आज अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा निगमले यो संयोग जुराएको हो । निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानमा गरी छ जना महिला पाइलट हुनुहुन्छ । रासस