• ११ वैशाख २०८१, मङ्गलबार

लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गरिएको छ : मुख्यमन्त्रीले अधिकारी

blog

गण्डकी,  फागुन  २४  गते । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीहरूमा बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश जारी गर्दै उहाँले महिला दिवसले सामाजिक न्याय र लैङ्गिक समानता कायम गर्दै महिलाको हकको सम्मान, संरक्षण र प्रवर्द्धनप्रति संवेदनशील हुन सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

“गण्डकी प्रदेश सरकारबाट लैङ्गिक समानता तथा महिला सशक्तीकरण, लैङ्गिक मूल प्रवाहीकरण तथा सामाजिक समावेशीकरणको नीतिलाई कार्यरुपमा रूपान्तरण गर्न, नीतिगत, संस्थागत, कार्यविधिगत तथा संरचनागत पक्षलाई विशेष ध्यान दिएको छ ” उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।

नीति, योजना तथा कार्यक्रममा लैङ्गिक मूल प्रवाहीकरणलगायत लैङ्गिक उत्तरदायी बजेटका माध्यमबाट लैङ्गिक समता र समानता प्रवर्द्धनका साथै लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको अवलम्बन गरिएको मुख्यमन्त्रीले अधिकारीले जनाउनुभएको छ ।

प्रदेश सरकारले जोखिमपूर्ण अवस्थाका गर्भवतीको हवाई उद्धार, पाठेघर तथा स्तन क्यान्सरको निःशुल्क उपचार, महिला तथा १६ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार र हिंसापीडित महिलाका लागि सीप विकास र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्दै आएको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।

‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने सङ्कल्पका साथ आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाइँदैछ । रासस