गोरखापत्र अनलाइन
धादिङ, फागुन २३ गते। सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन आफ्नो पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभएको छ।
धादिङको गल्छी गाउँपालिका र धुनिबेंसी नगरपालिकाका कार्यकर्तासँगको भेटमा उहाँले सो निर्देशन दिनुभएको हो। ‘‘हामी सरकारको नेतृत्व गरिरहेका छौं, बागमतीलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौं’, उहाँले भन्नुभयो, ‘‘कैयौं पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौं, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन्।’’
पार्टी र सरकारसम्म जनताका आवाज पुर्याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यो भूमिकालाई प्रभावकारीरुपमा अघि बढाउन नेता कार्यकर्ता निःस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने उहाँले बताउनुुभयो। ‘‘हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको पर्वाह गरेर राजनीतिमा लागेका छौं, हामीसँगैका कैयौं साथी शहीद हुनुुभयो’’, उहाँले भन्नुभयो, ‘‘हामी जोजसले जे जिम्मेवारी पाएका छौं, शहीदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।’’
अहिले शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले यसैमा टेकेर नेतृत्व र पार्टीमाथि प्रहार गर्न थालिएको उल्लेख गर्दै उहाँले सरकारले जतिसक्दो चाँडो शान्ति प्रक्रियालाई पूर्णता दिने बताउनुभयो। पार्टी र नेतृत्वमाथि विभिन्न कोणबाट भइरहेका प्रहारबाट हतोत्साहित नहुनु कार्यकर्तालाई आग्रह गर्दै उहाँले पार्टी र नेतृत्व अझ मजबुत भएर अघि बढ्ने पनि बताउनुभयो।
कार्यक्रममा माओवादी केन्द्र धुनीबेंसी गाउँपालिका समिति अध्यक्ष राजकुमार पाठक, गल्छी गाउँपालिका समिति अध्यक्ष रामशरण सिन्चुरीलगायतले पार्टी गतिविधिबारे रिपोर्टिङ गर्नुभएको थियो।