• १९ असार २०८१, बुधबार

सडक योजना अलपत्र पार्ने ठेकेदार खोज्दै स्थानीयवासी

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन २३ गते । पर्वतको जलजला गाउँपालिका ७ मिलन चोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर स्थानीयहरूले विरोध गरेका छन् । निर्माण कम्पनीले विगत १८ महिना देखि सडक अलपत्र पारेको भन्दै स्थानीयवासीहरु विरोधमा उत्रिएका हुन । उक्त सडक गण्डकी प्रदेश सरकारले चार वर्ष अघि नमुना सडक कार्यक्रम अन्तर्गत  स्तरोन्नति सहित कालोपत्रे गर्ने योजना अघि सारेको थियो ।  

स्थानीयहरूले हिमदुङ एन्ड ठोकर निर्माण कम्पनीका सञ्चालक बहादुर सिंह लामाको तस्बिर टाँसी ठेकेदार हराएको सूचना सहित विरोध  प्रदर्शन गरेका छन् । सडक निर्माण गर्ने जिम्मा लिएको ठेकेदार कम्पनीले बिचमै काम छाडेर योजना अलपत्र पारेको भन्दै स्थानीयहरूले ठेकेदारको तस्बिर सहित ब्यानर र प्लेकार्ड लिएर नाराबाजी गरेका थिए । 

स्थानीयहरूले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायमा  पटक पटक सडक निर्माणलाई अगाडि बढाउन अनुरोध गर्दा पनि बेवास्ता भएपछि निर्माण व्यवसायीकै तस्बिर टाँसेर विरोध गरेको जलजला ७ धाइरिङका वडाध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो । उहाँका अनुसार विगत १८ महिनादेखि योजना अलपत्र पारेर ठेकेदार कम्पनी बेपत्ता भएको छ । 

विरोध कार्यक्रममा स्थानीय दुर्गा दर्जी, वेदनाथ आचार्य र मनोहर आचार्यले सडक अलपत्र पार्ने ठेकेदार कम्पनी तत्काल कार्यस्थलमा फर्किएर निर्माण थाल्न अनुरोध गर्नुभयो । समयमै सडक योजना सम्पन्न नहुँदा सर्वसाधरणहरुले जोखिमपूर्ण यात्रा गर्नुपरेको र स्थानीयवासीको घर,खानेपानी,विद्यालय पहिरोको जोखिममा परेको उहाँहरूको भनाई थियो । सडक अधुरो हुँदा आवतजावतमा सास्ती, दुर्घटनाको जोखिम, पहिरो र भूक्षयको समस्या बढेको स्थानीयवासीको भनाई छ । 

नुवाकोटको क्षेत्र (ख) बाट निर्वाचित नेपाली काँग्रेसको बागमती प्रदेशसभाको संसदीय दलको नेता समेत रहनुभएका  लामा सञ्चालक रहेको सो कम्पनीले दुई वर्ष भित्र निर्माण सक्ने गरी २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपियाँमा १० किलोमिटर सडक निर्माणका लागि पूर्वाधार विकास कार्यालय पर्वतसँग ठेक्का सम्झौता गरेको थियो । 

ठेकेदार हराएको सूचना लेखेर म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गले जोड्ने बेनी–माल ढुङ्गा सडकको छेउमा राखिएको कालो ब्यानरमा सञ्चालक लामा र सडक समयमै सम्पन्न नहुँदाका अवस्था झल्काउने तस्बिर राखिएको छ । ५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडक सात मिटर र एक मिटर नाली बनाउने लक्ष्य छ । अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको सडकको मिलन चोक देखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्रेको तयारी गरिएको भए पनि वर्षातका समयमा आएको बाढी र पहिरोले बगाएर लगेको छ ।  

यता निर्माण कम्पनीका प्रतिनिधि यामबहादुर मल्ल (रामकृष्ण) ले कोरोना महामारी र कमजोर भूगोलका कारण समयमै निर्माण सम्पन्न गर्न कठिनाइ भएको बताउनुभयो । समयमै योजना सम्पन्न नहुनेमा निर्माण व्यवसायीको कमजोरी भए पनि पछिल्लो समय पूर्वाधार विकास कार्यालय पर्वतले समयमै रकम भुक्तानी नगर्ने, वैकल्पिक रुट नदिने जस्ता समस्या रहेको उहाँको भनाई छ । 


सडक योजना अलपत्र पार्ने निर्माण व्यवसायीको तस्बिर टाँसेर विरोध गर्दै स्थानीयहरू । तस्विरः ठाकुरप्रसाद आचार्य