• ९ पुस २०८१, मङ्गलबार

वित्तीय संस्थालाई बढ्दो सुरक्षा चुनौती

blog

सुरक्षा चुनौतीबारे जिल्लाका बित्तीय सञ्चालकहरू प्रहरी प्रमुखसँग छलफल पश्चातको सामुहिक तस्बिर । तस्बिरः ललिता साह

ललिता साह

वोदेवर्साइन (सप्तरी) फागुन २२ गते । आर्थिक तरलतासँगै लेनदेन, मिटरब्याजसम्बन्धी सप्तरीमा बढ्दो उजुरीले आर्थिक क्षेत्रमा काम गर्ने सङ्घ संस्था तथा कर्मचारीको सुरक्षा चुनौती थपिएको छ । आर्थिक लेनदेन तथा मिटरब्याजीसम्बन्धी हालसम्म जिल्लामा दुई सय २४ वटा उजुरी दर्ता भैसकेको छ । जसमध्ये २१ वटा उजुरी कारबाही प्रक्रियामा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा दैनिकजसो आधा दर्जनजति लेनदेनका लिखित उजुरी पर्दैआएको जिल्ला प्रहरी कार्यालयको उजुरी शाखाका कर्मचारी गोविन्द पोखरेलले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले यस्ता चुनौतीलाई मध्यनजर गरी जिल्लामा आर्थिक क्षेत्रमा काम गर्दैआएका सहकारी, बैङ्कलगायतका वित्तीय संस्थाहरूको सञ्चालक र कर्मचारीको सुरक्षामा हामी थप निगरानी राख्ने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख नरेन्द्रकुमार कार्कीले बताउनुभयो । 

जिल्लाका करिब तीन दर्जन बढी सहकारी, बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूसँग छलफल गरिरहँदा वित्तीय संस्था तथा सहकारीको सुरक्षाको चुनौती थपिएको उहाँहरूले बताउनुभयो । जिल्ला सहकारी सङ्घका अध्यक्ष रमेशकुमार गुप्ताका अनुसार मिटरब्याज तथा लघुवित्त संस्थाहरूलाई लक्षितगरी  नागरिकस्तरबाट जिल्लामा दैनिकजसो सहकारी लघुवितविरुद्धको प्रदर्शन आन्दोलन भइरहेका छन् । खासगरी सहकारी तथा लघुवित्तले लगानी गरेको ऋण चुक्ता ब्याज सङ्कलनका लागि दैनिकजसो गाउँसम्म फिल्ड जानुपर्ने कर्मचारीहरूसँग पटक पटक दुर्व्यवहारका घटनाहरू हुँदैआएको उहाँको भनाइ छ । 

हामी दिनरात दुःख  गरेर सहकारी चलाएका छौँ । नागरिकको गर्जो टार्न ऋण लगानी गरेका छौँ, उनीहरूकै पैसालाई सुरक्षित ढङ्गले बचत गरेर राखिदिएका छौँ, तर त्यही पैसा फिर्ता माग्न गाउँजाँदा नागरिकले हामीसँग अपराधीजस्तो व्यवहार देखाउने गरेको जिल्लाको खडक नगरपालिकास्थित मञ्जुश्री सहकारीका सञ्चालक सन्तोष साहले बताउनुभयो । 

जिल्लामा कुनैपनि क्षेत्रका कर्मचारी वा नागरिकले सुरक्षित ढङ्गले आफ्नो कार्य सम्पादन गर्न पाउनुपर्छ । यसर्थ: फिल्डमा खट्ने सहकारीको कर्मचारी माथि कोही कसैबाट हुनसक्ने अवाञ्छित गतिविधिलाई रोक्ने हाम्रो उद्देश्य रहेको प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।  वित्तीय संस्थाहरूले गर्दैआएको कामकारबाही नीति नियम सँगतक, कागजात क्रसचेकिङमा कर्मचारीलाई थप इमान्दार हुनुपर्ने देखिन्छ । “भौतिक साधन स्रोतमा मजबुती अनिवार्य सिसिटिभी जडान, सुरक्षित गाडी पार्किङलगायतको पक्षमा ध्यान दिई सञ्चालकहरू पनि थप सचेत हुनुपर्ने देखिन्छ” उहाँले बताउनुभयो ।