• १३ साउन २०८१, आइतबार

थापाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

blog

ललितपुरको च्यासलस्थित रहेको नेकपा (एमाले) को मुख्यालय । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २२ गते । नेकपा (एमाले) ले प्युठान जिल्ला कमिटी सदस्य रामबहादुर थापा ‘गोपाल’ को निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलले सोमबार शोक विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गर्नुभएको हो । 

जिल्ला कमिटी सदस्य थापा पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) अन्तर्गत उहाँलाई जिम्मेवारी तोकिएको थियो । कार्यक्रममा सहभागी हुन गइरहेका बेला गत शनिबार माण्डवी गाउँपालिका -५, आँपचौरमा मोटरसाइकल दुर्घटनामा परी थापाको ज्यान गएको थियो । उहाँको दुःखद निधनले पार्टी दुःखी भएको महासचिव पोखरेलले बताउनुभएको छ ।

जीवनभर राजनीतिमा सक्रिय रहनुभएका गोपालको पार्टी कामकै सिलसिलामा निधन भएको घटनाले पार्टीपङ्ति मर्माहत भएको उहाँले उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, “उहाँको निधनले पार्टीलाई अपूरणीय क्षति भएको छ । कमरेड गोपालको योगदानलाई पार्टीले सधैँ स्मरण गरिरहने छ ।” 

स्वर्गीय गोपालप्रति पार्टीले श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा रहनुभएका उहाँका श्रीमती, छोराछोरी र अन्य आफन्तजनप्रति महासचिव पोखरेलले गहिरो समवेदना व्यक्त गर्नुभएको छ । सोही दुर्घटनामा घाइते हुनुभई उपचार गराइरहनुभएका प्युठान जिल्ला कमिटी सदस्य वसन्ता भुसाल आचार्यको एमालेले शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।