सर्लाही, समाचारदाता
सर्लाही, फागुन २२ गते । सर्लाहीका विभिन्न साझेदारी तथा सामुदायिक र सागरनाथ वन विकास परियोजनाअन्तर्गतका जङ्गलमा लागेको डढेलो नियन्त्रणमा बेवास्ता गरिएको छ।
यहाँका वन क्षेत्रमा निरन्तर डढेलो लागेर रुख, बिरुवा सखाप भए पनि नियन्त्रणका लागि सरोकारवाला निकायले चासो देखाएका छैनन्। जिल्लाको ईश्वरपुरस्थित फूलजोरबाबा साझेदारी वनको आधाजसो क्षेत्रमा डढेलो लागिसकेको घारिबथान क्षेत्रका स्थानीयले बताएका छन्। वन क्षेत्रको ठाउँ–ठाउँमै आगोले स–साना रुख, बिरुवा जलेर नष्ट भइरहेका हुन्। डढेलो दिनानुदिन फैलिने क्रममा छ।
ईश्वरपुर नगरपालिका–१२, स्थित घारिबथान गाउँदेखि दक्षिण पूर्व–पश्चिम राजमार्गस्थित फूलजोर चोकसम्म निस्कँदा ठाउँ–ठाउँमै डढेलो लागेको देखिन्छ। “सरकारी वन भएर होला जताततै डढेलो लाग्दा पनि निभाउनका लागि कसैले चासो दिएका छैनन्,” फूलजोर चोकका एक स्थानीयले भन्नुभयो, “घारिबथानदेखि फूलजोरसम्म निस्कँदा आधा दर्जन भन्दा बढी स्थानमा आगलागी भइरहेको छ।”
पूर्व–पश्चिम राजमार्ग क्षेत्रको बाँके, रानीगञ्ज, लालबन्दी क्षेत्रमै वन क्षेत्रमा डढेलो लागिरहेको दृश्य देखिन्छ। वनमा चाँडो पालुवा पलाउने भन्दै स्थानीय र गोठालाले नै वन क्षेत्रमा आगो झोस्ने गरेका छन्।
जसले गर्दा स–साना रुख, बिरुवा सखाप भइरहेका छन् भने वनजन्तु बासस्थान खोज्दै किसानको खेतबारीमा पस्न थालेका छन्। डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मन्जुर अहमदले जिल्लाका वन क्षेत्रमा फाट्टफुट्ट कतैकतै मात्रै डढेलो लागेको दाबी गर्नुभएको छ।
उहाँले डढेलो नियन्त्रणको पूर्वतयारी अन्तर्गत अहिले काठ घाटगद्धी स्थलमा आगलागी हुन नदिन सरसफाइ गर्ने काम भइरहेको बताउनुभयो। “अहिले कतैकतै मात्रै डढेलो लागेको हो, डढेलो लाग्ने मुख्ययाम त आउँदै छ,” डिभिजन वन प्रमुख अहमदले भन्नुभयो, “हामी अहिले मुख्यगरी घाटगद्धी स्थल सरसफाइमा जुटेका छौँ।”
उहाँले ठूलो मात्रामा डढेलो लागे सामुदायिक र साझेदारी वन उपभोक्ता समितिसँगै सुरक्षा निकायसँग पनि सहयोग लिइने बताउनुभएको छ। सागरनाथ वन विकास परियोजनाले भने डढेलो नियन्त्रणका लागि जनशक्ति तथा आर्थिक समस्या रहेको जनाएको छ।
परियोजना प्रमुख रामकिशोर यादवले जनशक्तिको अभावले परियोजनाअन्तर्गतका वनमा लागेको डढेलो निभाउन कठिन भइरहेको गुनासो गर्नुभयो। “हामीसँग प्राविधिक निकै कम हुनुहुन्छ, एक जनाले सय हेक्टरको रेखदेख गर्नुपर्ने हुन्छ,” परियोजना प्रमुख यादवले भन्नुभयो, “बाहिर हुर्किसकेको बिरुवा रहेको क्षेत्रमा डढेलो लागे पनि भर्खरै बिरुवा हुर्किरहेको क्षेत्रमा डढेलो लाग्न दिएका छैनौँ।”
उहाँले घाटगद्धीमा भएको काठ बिक्री नभएको र कर्मचारीले गएको साउनदेखि नै तलब पाउन नसकेकाले काम गराउन पनि असाध्य गाह्रो परिरहेको दुखेसो पोख्नुभएको छ।