• १५ मंसिर २०८१, शनिबार

हामीलाई अपराधी बनाएर व्याख्या गर्न खोजियो : महासचिव विप्लव

blog

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा सहभागी माओवादी र पूर्व माओवादी नेता ।

 काठमाडौं, फागुन २१ गते। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्न खोजिएको आरोप लगाउनुभएको छ। 

 आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिनुभयो।

उहाँले भन्नुभयो, ‘‘हामीले बनाएको यो अवस्था आज हेर्ने हो भने लथालिङ्ग जस्तो, उदास जस्तो, जसले गर्व गरेर यो देशमा हाँस्नुपर्ने हो त्यो उदास जस्तो, निराश जस्तो, जो मानिसहरूले हेरेर हामीलाई गर्व गर्नुपर्ने हो, लाज मानेर घोप्टे मुन्टो लगाएर हिँड्नुपर्ने जस्तो के हो यो देशमा ? जसले सम्मान पाउनुपर्ने हो, जो सम्मानित हुनुपर्ने हो, त्यो अपराधी जस्तो, मलाई शहीदका छोराहरूले पनि भन्नुभयो, हामी अपराधी हो ? राज्यले के गरिरहेको छ। सम्मानित हुनुपर्ने मान्छे अपराधी जस्तो, कठघरामा उभ्याउनुपर्ने मान्छेले हालीमुहाली चलाउने जस्तो, इतिहास यसरी उल्टियो। माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने हामीसँग तागत छ। को हो हत्यारा नेपालमा ? दुई सय वर्षसम्म जनतालाई चुसेर अर्बौँ सम्पत्ति थुपार्ने सामन्तहरू अपराधी हुन्। हामी अपराधी होइनौँ, जुन अपराधी बनाइ व्याख्या गर्न खोजिएको छ, स्वीकार्य हुँदैन।’

विप्लवले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गर्नुभयो। उहाँले माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, ‘‘यो लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार छैन। माओवादीलाई अपराधी बनाउन खोजिन्छ भने इतिहास दोहोरिन्छ। दोहोर्‍याउन सकिन्छ, हेक्का राखौँ। हामी एक भएर उठ्यौँ भने २०६० सालको माओवादी ब्युँताउन सकिन्छ। हिजो प्रचण्ड कमरेडलाई मुद्दा दायर गर्दा कोही बोलेन। मैले त बोले नि। तर उहाँको पार्टी कता गयो। मान्छे छैनन् कि के हो ? मान्छेको त नशामा अलिकति रगत त बग्नुपर्छ नि। यो सुनसानजस्तो देखिन्छ।’’