• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्रीमाथि मुद्दा लगाएर माओवादीसँग निहुँ खोजिँदैछः बाबुराम भट्टराई

blog

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई । फाइल तस्बिर

काठमाडौं, फागुन २१ गते। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्याउनु रहेको टिप्पणी गर्नुभएको छ। 

आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो। 

उहाँले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाऊ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताउनुभयो। उहाँले पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप लगाउनुभयो। उहाँले यसको विरुद्धमा सबै माओवादी एक ठाउँमा उभिनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता मुद्दामा सबै माओवादी एक ठाउँमा उभिनुपर्ने आह्वान गर्दै यी मुद्दामा कार्यगत एकता गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो। 

पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयो, ‘‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनुभन्दा पनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ, त्यसको छलफल गरौँ। त्यसपछि मिल्न सक्नेहरु जति एक ठाउँमा आउँ, एउटा पार्टी बनाऔँ। पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ। अहिले यत्रो आक्रमण भइरहेको छ। माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्ने कुरा भनेको त्यो निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौँ ? यस्ता मुद्दामा कार्यगत एकता गरौँ। त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ। त्यसले परिवर्तन ल्याउँछ। हाम्रा शहीदहरुको सपना पूरा गर्छ।’’ 

पूर्वप्रधानमन्त्री भट्टराईले माओवादी विभाजित भए पनि अब मिलेर जानुपर्ने बेला आएको बताउनुभयो। उहाँले आफ्नो ठाउँबाट सबैले आफ्ना गल्ती र कमजोरी महसुस गरेर अघि बढ्नु नै देश र जनताको लागि कल्याणकारी हुने उल्लेख गर्नुभयो।