• १३ साउन २०८१, आइतबार

नेपाली ढाँचाको पर्यटन आवश्यक : पर्यटनमन्त्री किराती

blog

काठमाडौँ, फागुन २१  गते । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले धरानलाई पूर्वी पर्यटनको केन्द्रका रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । धार्मिकस्थल र सप्तकोसी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटनको केन्द्र बनाएर यस भेगका स्वदेशी उत्पादनको बजारीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल पर्यटन बोर्डको प्रवर्धनमा सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना  गरेको ‘धरान एक्स्पो–२०७९’ समापन समारोहमा मन्त्री किरातीले धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले यसलाई पर्यटन केन्द्रका रूपमा विकास गरी स्वदेशी उत्पादनलाई  बजारीकरणको  पनि केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्नुभयोे । 

पर्यटन प्रवर्धनका लागि यस भेगका उत्पादनलाई आफ्नो स्वाद, संस्कार संस्कृतिलाई नेपाली ‘मोडल’ बनाएर बजारीकरणका लागि ध्यानाकर्षण गराउँदै उहाँले नेपाली स्रोतसाधनलाई सामूहिकरूपमा परिचालन गर्न किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री मीन विश्वकर्माले उपलब्ध स्रोत र साधनलाई भरपुर उपयोगका लागि  स्थानीय उत्पादनलाई ‘ब्रान्डिङ’ गर्न उद्योगी तथा व्यवसायीसँग आग्रह गर्नुभयो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरानमा पर्यटनको विकासका लागि स्थानीय परिकारलाई प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै पूर्वको समग्र पर्यटन प्रवर्धनमा पर्यटन बोर्डले सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले उत्पादनमुखी व्यापार तथा  व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बनाउन जरुरी भएको बताउनुभयो । एक्सपोले धरान र यस वरपरको पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको बोर्डका सदस्य कृष्ण शाहको भनाइ थियोे ।  

फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा पर्यटनसँग सम्बन्धित १५ सहित विभिन्न एक सय ३० कक्ष रहेको सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्षले विजय श्रेष्ठले जानकारी दिनुभयो । रासस