हुम्ला समाचारदाता
हुम्ला, फागुन २१ गते । जिल्ला अस्पतालमा उपचाररत बिरामीहरूलाई रगतको आवश्यकता परे सुरक्षाकर्मीहरूकै भर पर्नुपर्ने बाध्यता छ। अस्पतालमा ब्लड बैङ्कको व्यवस्था नहुनु र रगतको आवश्यकता परे सुरक्षाकर्मीहरूलाई खबर गर्न सहज हुने भएपछि सुरक्षाकर्मीकै रगतको भर पर्नुपर्ने बाध्यता रहेको हो।
शनिबार सिमकोट गाउँपालिका–२ को ठेहेगाउँकी ४८ वर्षीया ल्वारनी रावललाई अकस्मात रगतको आवश्यकता परेपछि अस्पतालका स्वास्थ्यकर्मी जिल्ला प्रहरी कार्यालयमा खबर गर्न बाध्य भएका थिए। बिरामीका श्रीमान् डबले रावलले प्रहरी नभएको भए रगत पाउन कठिन हुने र बिरामीलाई बचाउन पनि समस्या हुने बताउनुभयो। उहाँले रगतको आवश्यकता पर्ने बित्तिक्कै अस्पतालका स्वास्थ्यकर्मीहरूले प्रहरीलाई खबर गर्दा रक्त समूह मिल्ने प्रहरी आएर रगत दिएपछि बिरामीलाई उपचार गर्न सहज भएको जनाउनुभयो।
अस्पतालका वरिष्ठ अनमी सरिता बोहराले अस्पतालमा आउने बिरामीका लागि रगत आवश्यकता परे प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबाट पूर्ति हुने गरेको बताउनुभयो। यो समस्या समाधानको उपाय सुरक्षाकर्मीबाट यस पटक मात्र नभएर सधैँ हुने गरेको छ। उहाँले अस्पतालमा ब्लड बैङ्क नभएका कारण रगतलाई मौज्दात गर्न नसकिने भएका कारण आवश्यक परेको बेला सुरक्षाकर्मीहरूलाई खबर गरेर समाधान गर्ने एक मात्र उपाय भएको उहाँको भनाइ छ।
यस वर्ष हालसम्म तीन जना बिरामीलाई रगतको आवश्यकता परेकोमा त्यो सबै सुरक्षाकर्मीहरूलाई उपलब्ध भएको छ। यसरी सुरक्षाकर्मीबाट बर्सेनि रगत उपलब्ध हुँदै आएको छ। रगतको आवश्यकता परे खबर गर्न पनि सहज हुने र भन्नेबित्तिक्कै रगत प्रदान गर्ने सुरक्षाकर्मी अस्पतालमा उपस्थिति हुने गर्छन्।