• १३ साउन २०८१, आइतबार

जसपाका ८० नेतालाई कारबाही सिफारिस

blog

ललितपुर, फागुन २१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आमनिर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने ८० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।  

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापा नेतृत्वमा गठित छानबिन समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हराउन भूमिका खेल्ने नेताको नामसहित विभिन्न स्थानका ८० जनालाई कारबाही सिफारिसको प्रतिवेदन शनिबार हस्तान्तरण गरेको छ। 

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ गरी १५२ जनासँग समितिले बयान लिएको थियो। सोही बयानको आधारमा ८० जनालाई कारबाहीको सिफारिस गरिएको समितिका संयोजक एवं जसपा नेपालका कार्यकारिणी सदस्य थापाले जानकारी दिनुभयो। समितिले आरोपी नेतासँग बयान लिनुका साथै अन्य प्रमाण र थप जानकारीका लागि २४७ जनासँग पनि भेटेर कुराकानी गरेको उहाँले स्पष्ट पार्नुभयो। 

समितिले पाँचथर, सुनसरी, मोरङ, सप्तरी, सिराहा, महोत्तरी, धनुषा, सर्लाही, मकवानपुर, धादिङ, काभ्रे, बर्दिया, सुर्खेत, कैलाली जिल्लामा पुगी स्थलगत प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुनुभएका अध्यक्ष यादवलाई हराउन स्थानीय नेताहरू सक्रिय बनेको उल्लेख छ। अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरले पराजित हुनुभएको थियो। 

प्रतिवेदन बुझ्दै अध्यक्ष यादवले पार्टीको आगामी बैठकमा प्रतिवेदनमाथि छलफल हुने र कार्यदलले सिफारिस गरेका नेता तथा कार्यकर्तालाई कारबाही हुने बताउनुभएको कार्यदलका संयोजक थापाले जानकारी दिनुभयो। यसअघि २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा छानबिन गर्न कार्यदल गठन भएको थियो तर सो कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनमा आएन। अहिलेको प्रतिवेदन कार्यान्वयन हुनेमा पनि आशङ्का भइरहेको छ। सो निर्वाचनमा ३९ नेतालाई कारबाहीको सिफारिस गरिएको थियो।