• ५ जेठ २०८१, शनिबार

जसपाको अन्तर्घात छानबिन प्रतिवेदनलाई अन्तिम रूप दिइँदै

blog

काठमाडौँ, फागुन २० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आमचुनावमा पार्टीमा अन्तर्घात भएकाबारे छानबिन गरेको प्रतिवेदनलाई अन्तिम रूप दिने काम भइरहेको जनाइएको छ । 

पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाको संयोजकत्वमा गठित उक्त कार्यदल आफ्नो स्थलगत अध्ययन सकेर हाल काठमाडौँ फर्किएको छ । आगामी हप्ता पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सो प्रतिवेदन बुझाउने तयारी भइरहेको संयोजक थापाले जानकारी दिनुभयो । चुनावमा अन्तर्घात भएको विवरण प्राप्त भएको र थुप्रै नेता त्यसमा दोषी देखिएको जनाइएको छ । दोषीमाथि कारबाहीका लागि सिफारिससहित पार्टीमा प्रतिवेदन बुझाइने संयोजक थापाले बताउनुभयो । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा कति जना दोषी छन् भन्ने छान्ने काम अझै नसकिएकाले नाम भन्न नसकिने बताइएको छ । 

जिल्ला जिल्लामा लिइएको बयान तथा कार्यदललाई प्राप्त बयानलाई भिडाउने काम भइरहेको र त्यसको आधारमा दोषी ठहर गरी कारबाहीका लागि सिफारिस गरिने संयोजक थापाको भनाइ छ । कारबाहीस्वरूप पार्टीबाट निलम्बन तथा निष्काशनसम्मको सिफारिस हुन सक्ने बताइएको छ । 

वि.सं २०७४ को चुनावमा पनि पार्टीका कार्यकारिणी समिति सदस्य रणध्वज कन्दङ्वाको संयोजकत्वमा अन्तर्घात छानबिन गर्न कार्यदल गठन भएको थियो । तर उक्त कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयनमा नआएका कारण यो प्रतिवेदन पनि कार्यान्वयन हुनेमा नेताहरूले आशङ्का गरेको बताइएको छ ।