पविता पौडेल
सैनामैना, फागुन १९ गते । पाँचौ राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको आज तेस्रो दिनमा दर्शकको सहभागिता उत्साहजनक भएको आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्राथमिकता दिएको संघका कार्यबाहक अध्यक्ष एवम् मूल समारोह समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो ।
यसैगरी मेलाको चौथो दिन भोलि शनिवार दर्शकको संख्या बढ्ने महोत्सवका प्रचार प्रसार संयोजक गोबिन्द पोखरेलले विश्वास व्यक्त गर्नुभयो । तेस्रो दिन चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटीसहितका कलाकारहरुको बेजोड प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक चामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
फागुन १७ देखि २८ गतेसम्म सञ्चालन हुने मेलामा शुक्रबार नै लोक तथा दोहोरी गायिका सपना गाहा, गायक मधु परियार एवम् स्थानीय कलाकारहरुले समेत दर्शक श्रोतालाई छमछमी नचाउने बताएका छन् । साथमा सैनामैना डान्सिङ्ग आईडल समेत हुने व्यापार संघले जनाएको छ ।
महोत्सव अन्तर्गत बिहीबार डान्सिङ्ग आइडलमा १० जना प्रतिस्पर्धिले आफ्नो प्रस्तुति दिएका थिए । आजदेखि भोटिङका आधारमा एक–एक जना प्रतिस्पर्धी बाहिरिने अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वनले जानकारी दिनुभयो ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सञ्चालित मेलामा बिहीबार बेहुला बनाउँछु भन्थी बहुला बनाएर गईसहित दर्जनौ चर्चित गीतका गायककार रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका आशा बिसी, गायकद्वय गोकुल न्यौपाने र राजेश भण्डारीको प्रस्तुति रहेको थियो । सैनामैना २ कालिकाचोकमा मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै महोत्सव आयोजना गरिएको छ ।