कपिल ज्ञवाली
सिद्धार्थनगर, फागुन १९ गते । रुपन्देहीको बुटवलमा पशु बधशाला निर्माण कार्य सम्पन्न भएको छ । करिब २५ बर्षदेखि बधशालाको बहस भैरहे पनि अब बधशाला सञ्चालनको तयारी भएको हो ।
बधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्यबजार स्थानमा खुल्ला र सामान्य मापदण्ड मात्र पूरा गरेको पसलबाट मासु उपभोग गरिरहेका थिए । अब बधशाला सञ्चालनको तयारी भएसँगै उपभोक्ताले स्वच्छ मासु खान पाउनेछन् ।
बुटवल उपमहानगरपालिका –१० रामनगरमा दुई विघा तीन कठ्ठा क्षेत्रफलमा बधशाला निर्माण भएको बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिबीच सहमति भएको छ ।
दुई पक्षबीच भएको सहमतिअनुसार पशु बधशाला छिट्टै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । बधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गरिनेछ । सार्वजनिक निजी साझेदारीमा वधशाला सञ्चालन गर्ने मोडालिटीेअनुरुप बधशालाको पुर्वाधार निर्माण भएको हो ।
सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम बधशालालाई व्यवस्थितरुपमा सञ्चालन गर्नेगरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उहाँले बताउनुभयो ।
बधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु बधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ । विधेयकले पशु बधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरागरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजतपत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ ।
कानूनी हिसाबले समेत सहज हुने गरी बधशाला सञ्चालन हुने र यसले बुटवलबासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगर प्रमुख पाण्डेयको भनाइ छ ।
बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष समेत रहेका रुपन्देही मासु व्यवसायी संघका पुर्व अध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु बधशाला सञ्चालनका लागि देखिएका अन्योल टुंगिएकाले छिटै बधशाला सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । २२ करोड १३ लाख ३५ हजारको लागतमा बधशाला बनाउन ठेक्का सम्झौता भएको थियो ।