• ९ मंसिर २०८१, आइतबार

एक थान अमूर्त कविता

blog

जन्मेको छ एक 

अराजक प्राणी संसारमा

जसको समयचर्या छ –

सूर्य नपुगेको ठाउँबाट

बटुलेर मनभरि भावना

सँगालेर आँखाभरि ज्योतिपुञ्ज

छर्नु छ यता ल्याएर

गर्नु छ कुनै न कुनै नयाँ सिर्जना

देखाउनु छ खोट ब्रह्माण्डको

सम्याउनु छ मैदान  

सगरमाथा चुलीमा

अनि 

चुल्याउनु छ चुचुरो एक अँजुली बालुवाले

कल्पनाको आठौँ समुद्रमा

फैलियोस् सीमाना

हरेक नेपालीको 

मुटुसम्म ।


विप्लवी छ ऊ

पल्टाउँछ सारा राज्यसत्ताहरू

मसीको एकै थोपाले

सिन्चेर सुन्दर र सौम्य फूलवारी

बन्दै रुमानी 

फुलेका फूल र झुलेका लहरामा 

बोलाएर संसारका 

सबै आँखा र नाकहरू

उतार्छ क्यानभासमा

एउटा गोलाकार देश

अङ्कित गर्दछ 

फहराउँदो चन्द्रसूर्याङ्कित ध्वजाले 

यो हो सगरमाथा

यो हो लुम्बिनी

..१

... ११

.... १११

पारेर जम्मा सारालाई

लागेर बोधीवृक्षको मूलमा आड 

गर्दै छ वाचन ऊ

बिनाशीर्षकको कविता

सुनिन्छन् शब्दहरू

बुझिन्छन् भावहरू–

‘यही हो संसारमै 

एउटा मात्र देश

एउटा मात्र महादेश

जहाँ

छैन कोही कसैको उपनिवेश

साँच्चिकै सुन्दर परिवेश !’

अटाइदिन्छ हरेकको छातीमा 

पाएर सर्वसम्मति साराको

राख्दछ नाम कविताको

केवल तीन अक्षर खर्चेर 

एउटै शब्दमा–

नेपाल !


हरेक टाउकाबाट फुकालेर टोपी

झुकाएर शिर श्रद्धाले

छाम्दै गर्दा छाती दायाँ हातले

हरेक धड्कनले दिँदैछ सूचना–

‘तिमीले लुकाएर राखेको 

मुटुभन्दा पनि प्रिय वस्तु

दुख्दैछ इतिहासकै असमनीय घाउ  

थुनेर झ्याल, ढोका र खटप्वालहरू

बसेर बन्दकोठामा बिनायोजना

चरक्क चरक्क छुरीले

चिरा चिरा पारेर 

नुनखोर्सानी दलेर 

जिभ्रो फड्कार्दै छन् अगस्तिहरू ।’


ती संवेदनाहीन मुटुहरूभन्दा भिन्न

ऊ एक मान्छेको मुटु हो

र, सबै मान्छेको मुटु हो

भावना, संवेदना र समवेदना 

सबैका सबै छन् उसमा

लेखेका उज्याला शब्दमा

थपिएका सारा भावलाई

राहुले खग्रास पारिदिएको 

नराम्रो सपना

फेरि एक पटक देख्दा 

कलमले उसको देश

बचाउन कागजको किनारामा

कोर्दै छ सिमाना 

सीमावद्ध गर्दै छ सिङ्गो आकृति

मेचीदेखि महाकाली र 

सगरमाथादेखि लुम्बिनी परसम्मको

तर अचम्ममा पर्छ त्यो शिल्पी

जब पाउँछ उसका

हातले समाएको कलम 

कागजमा बन्दुक चिप्लन्छ

अनि मसी हैन छाद्छ 

तात्तातो रगत 

र पाउँछ 

निथ्रुक्क 

एक थान अमूर्त कविता !