• १३ साउन २०८१, आइतबार

राष्ट्रपति उम्मेदवारको रुपमा ममाथि सबैको भरोसा छ : वरिष्ठ नेता पौडेल

blog

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, फागुन १८ गते। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारको रुपमा आफूमाथि सबैले भरोसा राखेको बताउनुभएको छ। 

बिहीबार आठ दलको तर्फबाट राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर सांसदका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले आफूले सबैको माया पाएको बताउनु भएको हो। उहाँले सबै सांसद आफ्नो उम्मेदवारीप्रति सकारात्मक रहेको बताउनुभयो। वरिष्ठ नेता पौडेलले सांसदले आफूले संविधानको संरक्षण गर्ने कुरामा भरोसा मानेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘सबैसँग सम्पर्क र भेटघाट भइरहेको छ। मैले आफ्नो जिम्मेवारी पूरा गर्छु भनेर उहाँहरुलाई विश्वास दिलाउने काम गरिराखेको छु। सबै अत्यन्त सकारात्मक हुनुहुन्छ। तपाईं पुरानो मान्छे भनेर माया गर्छन्। सबै साथीले माया गर्नुहुन्छ। तपाईंमाथि भरोसा छ, तपाईंले अवश्य पनि संविधानको संरक्षण गर्नुहोला भन्छन्।’’

कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र)का सांसद नारायण दाहालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा जस्तो संविधान मिच्ने काम राष्ट्रपतिबाट नहोस् भनी सचेत गराएको बताउनुभयो। अध्यक्ष दाहालले आगामी दिनमा हरेक मुद्दामा राष्ट्रिय एकता गरेर जानुपर्ने बताउनुभएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘अध्यक्षले हिजोका दिनमा राष्ट्रपतिबाट जुनखालको संविधान मिच्ने कामहरु भयो, राजनीतिक दललाई काखा र पाखा गर्ने जुन व्यवहार भयो त्यो नहोस् भन्नेखालको अपिल प्रधानमन्त्रीज्यूले गर्नुभयो।’’

त्यसैगरी अभिमुखीकरण कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता, संविधान संशोधन र राजनीतिक बन्दीको रिहाइको सम्बन्धमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलबाट प्रतिबद्धता आएकाले समर्थन गरिएको कुरा राख्नुभएको सो पार्टीका सांसद शरदसिंह भण्डारीले जानकारी गराउनुभयो। 

सांसद भण्डारीले आफूहरु पुस १० गतेभन्दा अगाडिको गठबन्धनको घटक भएको भन्दै सरकारमा स्वतः सहभागी हुने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामी पुस १० गतेभन्दा पहिलेको गठबन्धनको घटक हौं। त्यसो हुनाले हामी अहिले पनि त्यही गठबन्धनमा छौँ। त्यो गठबन्धनकै कारणले यो परिस्थिति सिर्जना भएको कारणले हामी स्वतः सरकारमा सहभागी हुन्छौँ।’

 उहाँले आफूहरु सरकारमा सहभागी हुने भए पनि मन्त्रालयको सम्बन्धमा भने छलफल भइनसकेको उहाँले प्रष्ट पार्नुभयो।