बागलुङ समाचारदाता
बागलुङ, फागुन १८ गते । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनलाई प्रविधिमैत्री बनाउन अनलाइनमार्फत नामावली सङ्कलन गर्न थालेको छ। सेवाग्राहीको सुविधाका लागि अनलाइन मतदाता नामावली सङ्कलन सुरु गरिएको हो।
विगतमा जिल्ला निर्वाचन कार्यालय र नागरिकता जारी हुने ठाउँमा मतदाता नामावली सङ्कलन गर्ने सुविधा हुँदा अधिकांश मतदाता नामावलीमा नाम लेखाउन सहभागी हुन्थे।
अनलाइन प्रणालीमार्फत नामावली सङ्कलन गर्दा नयाँ नागरिकता बनाउने नागरिक नामावली दर्ता गर्न छुटेका छन्। जुन गाउँबाट पनि अनलाइन फाराम भर्ने सुविधा भए पनि र बायोमेट्रिकका लागि जिल्ला निर्वाचन कार्यालय जानुपर्ने झन्झटले कतिपयले नाम लेखाउन छाडेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञप्रसाद रिजालले बताउनुभयो।
यसअघि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय बागलुङ र इलाका प्रशासन कार्यालय बुर्तिबाङबाट नियमित मतदाता नामावली सङ्कलन हुँदै आएको थियो।
नामावली सङ्कलन गर्ने ठाउँमै फोटो खिच्ने र डिजिटल औँठाछाप लिने सुविधा हुँदा नयाँ नागरिकता बनाउने नागरिकले अनिवार्य नाम लेखाउने गर्थे। नामावली नभएका नागरिक पनि आवश्यक कागजात लिएर सेवा स्थलमा आएमा नामावलीमा सहभागिता जनाउन गरेको कार्यालय प्रमुख रिजालको भनाइ छ।
विगतमा अनलाइन प्रणाली नहुँदा दैनिक करिब डेढ सय नामावली सङ्कलन हुन्थ्यो। अहिले औसतमा दैनिक चार/पाँच जनाले मात्रै अनलाइन फाराम भर्ने गरेका छन्। अधिकांश सेवाग्राहीलाई अनलाइन फाराम भर्ने प्राविधिक ज्ञान अभाव छ। प्राविधिक ज्ञान भएका नागरिक पनि बायोमेट्रिक दिन जिल्ला कार्यालयमा जानुपर्ने हुँदा कठिन मान्ने गरेका छन्।
मतदाता नामावली दर्ता गर्नका लागि अनलाइन फाराम भरी बायोमेट्रिकका लागि अनलाइन आवेदन फारामको प्रिन्ट गरेको प्रति सक्कल नागरिकताको प्रमाणपत्र, बसाइँसराइका हकमा बसाइँसराइ दर्ता प्रमाणपत्र र विवाहका हकमा विवाह दर्ता प्रमाणपत्र साथमा लिई तोकिएको मितिमा सम्बन्धित मतदाता स्वयम् जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था छ।
गत साउन १९ गतेदेखि स्थगित मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य निर्वाचन आयोगको पुस २२ गतेको निर्णयअनुसार पुनः नियमित भएको छ। “दुर्गम क्षेत्रका नागरिक नामावलीको फोटो खिच्नको लागि मात्रै सदरमुकाम आउँदैनन्,” नेकपा
(माओवादी) केन्द्रका जिल्ला इन्चार्ज राजीव घिमिरेले भन्नुभयो, “आयोगले पुरानो शैलीबाट नामावली सङ्कलन अघि बढाउनु अनिवार्य छ।”
मतदाता नामावलीमा नाम लेखाउने प्रयोजनका लागि कुनै पनि नागरिकले १०/१५ हजार रुपियाँ खर्च नगर्ने उहाँको भनाइ छ। निर्वाचनको समय नभएको र विपन्न नागरिक स्वयंले खर्च गरेर सदरमुकाम आउन नसक्ने हुँदा विगतको सेवालाई पनि निरन्तरता दिनुपर्ने राष्ट्रिय जनमोर्चा बागलुङका प्रतिनिधि थानेश्वर सुवेदीको राय छ।
निर्वाचन कार्यालय बागलुङले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दै छ। फागुन २२ देखि वैशाख १० गतेसम्म सञ्चालन हुने मतदाता नामावली अद्यावधिक, नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, प्रकाशित मतदाता नामावलीमा कसैले झुटा विवरण दिई नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिनेलगायत स्थानीय पञ्जिकाधिकारीबाट प्राप्त गर्नेलगायतका क्रियाकलाप हुनेछन्।