• २६ जेठ २०८२, सोमबार

दिव्यदीप माविमा भारत सरकारको सहयोगमा छात्रावास र चमेनागृह

blog

दिव्यदीप माविमा भारतीय दूतावासको सहयोगमा शिलान्यास गरिएको २४ कोठे छात्रवास भवनसहित चमेनागृह । तस्बिर : हरिकृष्ण शर्मा

हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), जेठ २६ गते ।
उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङमा भारत विकास सहकार्यअन्तर्गत भारत सरकारको सहयोगमा विद्यालयमा २४ कोठे आवासीय छात्रावास तथा चमेनागृह भवनको शिलान्यास गरिएको छ । लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेको दिव्यदीप माध्यमिक विद्यालय प्राङ्गणमा एक समारोहका बिच कुल चार करोड ३० लाख ८५ हजार ३४९ रुपियाँ आर्थिक लागतमा निर्माण हुने भवनको गाउँपालिका अध्यक्ष टसी नर्वु गुरूङ र भारतीय दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले संयुक्त उद्घाटन गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरूङले आवासीय भवनले विद्यार्थीको पठनपाठनमा सहज हुने बताउँदै सहयोगको प्रशंसा गर्नुभएको थियो । भवन निर्माणमा भारतीय दूतावासबाट कुल लागतको ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लगानी गर्ने प्रमुख प्रशासकीय अधिकृत विशाल केसीले बताउनुभयो ।

भारतीय दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले परियोजना भारत र नेपालबिचको बलियो विकास साझेदारीको एक महत्त्वपूर्ण उदाहारण रहेको बताउनुभयो । भवन शिलान्यासमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति थियो ।

उपल्लो मुस्ताङको एक मात्रै मावि विद्यालयको रुपमा रहेको दिव्यदीपमा छिमेकी जिल्ला म्याग्दी, बागलुङ, धनुषा, रुपन्देहीलगायतका जिल्लासहित बालविकासमा १३ जना र कक्षा १ देखि १० सम्म ६५ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयले ६ महिना पोखराको विजयपुरमा रहेको आफ्नै चार तले भवनमा पठनपाठन गराउने गरेको विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले बताउनुभयो ।

भवन निर्माणका लागि स्थानीय वृद्धा टासी याङजीनले दुई रोपनी तीन आना जग्गा दान दिनुभएको थियो । उपल्लो मुस्ताङमा भारत, चिनियाँ, अमेरिकाको सहयोगमा विभिन्न परियोजनामा वर्षेनी लगानी गर्ने गरिएको छ ।