• २६ जेठ २०८२, सोमबार

एक महिनामै भासियो सडक

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), जेठ २६ गते । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. २  स्थित पाताभारदेखि टिकुलीगढ जोड्ने सडक निर्माण भएको एक महिना नबित्दै भासिएको छ । प्रदेश सरकार सडक पूर्वाधार विकास कार्यालय बर्दियाको लगानीमा निर्माण भएको सडक बर्सात लाग्नुभन्दा अगावै भासिन सुरु भएको हो । 

जिटुएस बिल्डर्स नाम गरेको ठेकेदार कम्पनीले करिब १२ लाख रुपियाँको लागतमा निर्माण गरेको सडक एक महिना नबित्दै भासिन थालेपछि स्थानीय आक्रोशित भएका छन् । सडक राजापुर सिँचाइ आयोजनाको कुलोको छेउमा निर्माण भएको छ । गेरुवा गाउँपालिका–२, टिकुलीगढका वासुराम थारूले सडक निर्माणका लागि आवश्यक पर्ने पर्खाल नबनाई सडक निर्माण गरेको हुनाले सडक भत्किएको बताउनुभयो । उहाँले पटक पटक यस स्थानमा पर्खाल नबनाई सडक कालोपत्रे गरेमा टिक्दैन भनेर अनुरोध गरे पनि निर्माण कम्पनी र कार्यालयले सडक कालोपत्रे गरेको बताउनुभयो । 

गेरुवा गाउँपालिका–२ का वडाध्यक्ष कृष्ण थारूले सडक कालोपत्रे गर्नभन्दा पहिले पर्खाल बनाउनका लागि पहल र अनुरोध गरे पनि ठेकेदार र पूर्वाधार विकास कार्यालयले सडक कालोपत्रे गरेको बताउनुभयो । उहाँले सडक जोगाउनका लागि भए पनि हिउँदे अधिवेशनमा बजेट छुट्याएर पर्खाल निर्माण प्रक्रिया थालेको बताउँदै नहरमा पानी चलाउनुपर्ने भएको हुनाले अर्को आर्थिक वर्षमा मात्र पर्खाल निर्माण हुने बताउनुभयो । गेरुवा गाउँपालिका–२, टिकुलीगढका चक्रप्रसाद धमलाले सडकको अवस्था हेर्दा बर्सातकै समयमा सडकको थप भाग पनि भासिन सक्ने सम्भावना रहेको बताउनुभयो ।