• १३ साउन २०८१, आइतबार

सङ्घीयताको रक्षा गर्नुको विकल्प छैन : अध्यक्ष यादव

blog

जनकपुरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै जसपाका अध्यक्ष उपेन्द्र यादव । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

धनुषा, फागुन १७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता मधेशी समुदायसहित पछाडि परेका वर्गको भविष्यसँग गाँसिएकाले यसको रक्षाको विकल्प नरहेको बताउनुभएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार एक कार्यक्रममा उहाँले त्यस्तो बताउनुभएको हो । 

अझै पनि खस शासकहरूले सङ्घीयता नचाहेको चर्चा गर्नुहुँदै मुलुकलाई एकात्मक प्रणालीमा लग्न खोजेको आरोप लगाउनुभयो । त्यस्तो अवस्था आउन नदिइने उहाँले चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीयताको विकल्प एकात्मक प्रणाली हुँदैन, सङ्घीयतालाई समाप्त पार्न खोज्नेहरू आफै समाप्त भएर जानेछन् ।” 

अध्यक्ष यादवले नेपालमा सात वटा प्रदेशमध्ये पहिचानमा आधारित र सङ्घीयताको जननी प्रदेश मधेश मात्र भएकाले मधेश प्रदेशले विगतका कमी कमजोरी सुधार गरी अघि बढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी चुक्नु हुँदैन । हामी चुक्यौँ भने सङ्घीयता र गणतन्त्र दुवै धरापमा पर्छ ।” 

वर्तमान सरकारको भविष्य सङ्घीय निजामती ऐन पारित गरी प्रदेशको कर्मचारीतन्त्र स्थापित गर्नु र प्रहरी समायोजन गरी प्रदेश प्रहरीको गठन गर्ने यी दुई विषयमा टिकेको बताउनुभयो । यी दुई वटा कुरामा सरकार गम्भीर नभए सरकारको भविष्य खतरामा पर्ने उहाँको भनाइ छ ।