• १३ मंसिर २०८१, बिहिबार

अव्यवस्थित तार हटाउन ललितपुर महानगरले दियो १० दिनको समय

blog

तार हटाउन निर्देशन दिनुहुँदै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन ।

ललितपुर, फागुन १७ गते। ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन १० दिनको समय दिएको छ। नगर प्रमुख चिरीबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र काट्न निर्देशन दिनुभएको हो। 

महानगरको चारवटा अशोक स्तुपा क्षेत्र वरपर टाँगिएका तार, कुम्भेश्वर मन्दिर परिसरमा टाँगिएका तार, पाटन दरबार क्षेत्र वरपरका तार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेलमा टाँगिएका तार हटाउन उहाँले निर्देशन दिनुभएको हो। 

नगर प्रमुख महर्जनले दश दिन भित्र तार नकाटे महानगरले नै काट्ने बताउनुभयो भएको हो। सडकमा गाडिएको खम्बा, घरको भित्तामा असरल्ल टाँगिएको तारको गुजुल्टोका कारण आफूलाई लज्जाबोध भएको नगर प्रमुख महर्जनले बताउनुभयो। 

ललितपुर घुम्न आएका पर्यटक र कामका सिलसिलामा आफूलाई भेट्न आएका विदेशी पाहुनाले ती असरल्ल तारका गुजुल्टाबारे टिप्पणी गरेको स्मरण गर्दै नगर प्रमुख महर्जनले भन्नुभयो, ‘‘ललितपुरका मनमोहन सम्पदाका तस्बिर खिज्न खोज्छौँ। तर यी तार राम्रो तस्बिरका लागि बाधक भइदिन्छन् भन्ने गुनासो आएको छ।’’ 

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (आइएसपिए) लाई ललितपुर महानगरले जिम्मा दिएको छ। तार व्यवस्थापन गर्न आइएसपिएलाई ललितपुर महानगरले नगर प्रहरीसहित अन्य आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो।