• १३ असोज २०८१, आइतबार

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी

blog

पोखरा  फागुन १७ गते । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।

निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । 

“पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई कनेक्टिभिटीमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिबद्ध छ”,स्टेसन म्यानेजर गौतम बरालले भन्नुभयो । उहाँले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी पनि दिनुभयो ।

म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौँ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाई उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ । 

पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने मेनेजर बरालको भनाइ थियो । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटी बढ्ने र आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गर्नुभयो । “पोखरा पर्यटकीय सहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको प्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष  आग्रह गर्नुभयो ।  

पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरूले छिटो र आरामदायी यात्रामा रुचि राख्ने हुँदा जति एयर कनेक्टिभिटी पर्यटकको चहलपहल पनि बढ्दै जाने बताउनुभयो । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवर्द्धन हुने उहाँको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताउनुभयो । 

योसँगै बुद्ध एयरले मार्च ९देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ ।  पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ । अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा करिब १८ घण्टा बिताउनाका साथै  रु २४ सय–२७ सयसम्म भाडा तिर्नुपर्छ तर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र  हवाई भाडा पनि  रु नौ हजार छ सय ८५ पर्छ ।  रासस