• १३ वैशाख २०८१, बिहिबार

“सबमरिन केबल” विश्व जोड्ने सेतु

blog

समुद्रमुनि बिछ्याइएको अप्टिकल फाइबर (सबमरिन केबल) अहिले विश्वलाई जोड्ने सेतु बनेको छ । हामीले चलाइरहेको इन्टरनेट अधिकांश भारतको मुम्बईबाट आएको छ । नेपाली इन्टरनेट खरिदकर्ता कम्पनीले भारत र चीनका क्यारियरबाट अन्तर्राष्ट्रिय ब्यान्डविथ नेपाल भित्र्याउँदै आएका छन् । 

चीनका नौवटा सबमरिन केबल ल्यान्डिङ स्टेसनमा केबलहरू अवतरण भएका छन् । हालसम्म भारतसँग विश्वका विभिन्न भागबाट १७ वटा समुद्री केबल आएका छन् । भारतको मुम्बई र चेन्नईमा यस्ता केबलको अधिकतम घनत्व छ । भारतले इन्टरनेट संसारभरि समुद्रमुनि बिछ्याइएको केबलमार्फत लिने र नेपाललगायतका देशमा वितरण गर्छ । विश्वमा अहिले समुद्रमुनि बिछ्याइएको सुपर हाइवे केबल नेटवर्कले काम गरिरहेको छ । चाहे त्यो मुम्बई होस् वा न्युयोर्क, सिड्नी, सिङ्गापुर, टोक्यो, साङ्घाई, लन्डन; सबैले यही समुद्रमुनि बिछ्याइएको केबलबाट इन्टरनेट लिने गर्छन् ।  

विश्वका जुनसुकै कुनाबाट पनि हामीले इन्टरनेटको पहुँच लिइरहेको इन्टरनेट यही फाइबर अप्टिक केबलबाट आउँछ । यस्ता केबलमार्फत विश्वका सूचना प्रयोगकर्ताको कम्प्युटरमा प्रकाशको गतिमा कम्प्युटरमा देखा पर्छन् । विश्वलाई एक गाउँका रूपमा विकास गर्ने श्रेय इन्टरनेटलाई जान्छ । 

समुद्रमुनि यसरी बिछ्याइने दुईदेखि सात इन्चका फाइबर अप्टिक केबलको आयु २०÷२५ वर्ष हुन्छ । यस केबलमा रहेका साना फाइबरले प्रतिसेकेन्ड १० गिगावाइटका दरले डाटा ट्रान्सफर गर्न सक्छन् । सुरक्षाका लागि यी केबललाई स्टिलले बेरेर राखिन्छ । 

कहिलेकाहीँ नेपाललगायत विश्वका अन्य देशमा इन्टरनेटको गति केही सुस्त भएको हामीले अनुभव गरेको कुरा हो । त्यसको कारण के हो भने समुद्रमुनि जाने भूकम्प, ज्वालामुखीजस्ता अन्य वातावरणीय कारणले इन्टरनेट केबललाई नोक्सानी पु¥याउँदा सूचना प्रवाहमा समस्या आउँछ । हरेक वर्ष एक सयदेखि डेढ सयसम्म यस्ता केबलमा विभिन्न कारणले क्षति पुग्ने गर्छ । 

ज्वालामुखीका साथै माछा मार्ने जहाजहरू र जहाजका एङ्करले मुख्य रूपमा केबलमा नोक्सानी पु¥याउने गर्छन् । पानीमुनि कम्पोनेन्टहरू असफल हुने, कसैले जानाजानी तोडफोड गर्ने र सार्कको टोकाइबाट पुग्ने क्षतिचाहिँ अत्यन्तै दुर्लभ छ ।  

समुद्रमुनि बिछ्याइएको इन्टरनेट केबल विश्वका मानिसका लागि इन्टरनेटको मेरुदण्ड हो । 

यसैमार्फत इन्टरनेटमा प्रसारण हुने डाटाले हामीलाई संसारभर जोड्ने गर्छ । संसारमा प्रयोग हुने ९८ प्रतिशत इन्टरनेट समुद्रमुनि रहेका केबलमा भर पर्छ । बाँकी इन्टरनेट स्याटेलाइटबाट पूर्ति हुने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् ।

समुद्रमुनि १४ लाख किलोमिटरभन्दा बढी इन्टरनेटका अप्टिकल केबल बिछ्याइएको छ । सन् २०२३ को सुरुको तथ्याङ्कअनुसार विश्वभर समुद्रमुनि पाँच सय ५२ वटा सक्रिय केबल छन् । 

समुद्रमुनि केबल (तार) बिछ्याउने प्रविधि हालसालै विकास भएको होइन ।  सन् १९५० मा पहिलो पटक समुद्रमुनि तार टेलिग्राफीका लागि बिछ्याइएको थियो । आधुनिक केबलले टेलिफोन, इन्टरनेट र निजी डाटा ट्राफिकसहित डिजिटल डाटा बोक्न अप्टिक फाइबर प्रविधि प्रयोग गर्छन् । आधुनिक केबल सामान्यतया एक इन्च व्यासमा हुन्छन् । बेलायत र फ्रान्सबीच सन् १८५० को दशकमा यस्ता तार बिछ्याएर टेलिग्रामका सूचना आदानप्रदान गरिएका थिए । यस्तै बेलायत र अमेरिकाबीच सन् १८५८ अगस्ट ४ मा समुद्रमुनि तार बिछ्याएर टेलिग्राम आदानप्रदान गरिएको थियो । 

यस्ता केबलको लम्बाइ फरक फरक हुने गर्छ । कुनै केबल एकदमै छोटा हुन्छन् । जस्तो आयरल्यान्ड र बेलायतबीच मात्र एक सय ३१ किलोमिटरको केबल रहेको छ ।  यसको विपरीत अन्य केबल अविश्वसनीय रूपमा लामा छन् । जस्तै एसिया अमेरिका गेटवे केबलको लम्बाइ २० हजार किलोमिटर छ । 

अर्को प्रश्न उठ्न सक्छ, यी केबलमा स्वामित्व कसको छ ? केबल परम्परागत रूपमा टेलिकम वाहकको समूह (एसोसिएसन) को स्वामित्वमा रहन्थे । पछि सन् १९९० को दशकको अन्त्यमा उद्यमशील कम्पनीहरूले स्वयं नै धेरै केबल बिछ्याएर सञ्चालनमा ल्याए । यसरी बनाइएका केबल यी कम्पनीले प्रयोगकर्तालाई क्षमताका आधारमा बेच्न थाले । अहिले पनि टेलिकम वाहकहरूको एसोसिएसन र निजी केबल कम्पनी दुवै मोडेल विश्वमा प्रचलनमा रहेको छ । 

सामान्यतया नयाँ केबलले १५ वर्ष पहिले राखिएका केबलभन्दा बढी डाटा बोक्छन् । नयाँ केबलले दुई सय २४ टेराबाइट डाटा प्रतिसेकेन्डसम्म बोक्न सक्छन् । कुनै कुरामा स्याटेलाइटको प्रयोग निकै राम्रो मानिए पनि इन्टरनेटको डाटा प्रसारणमा विश्वभर केबल नै रुचाइएको पाइएको छ । त्यसको मुख्य कारण भनेको केबलले सुलभ दरमा डाटा एक ठाउँबाट अर्को ठाउँमा उच्च गतिमा सहजै प्रसारण गर्न सक्छ ।