नवलपरासी समाचारदाता
नवलपरासी, फागुन १७ गते । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित आदर्श माध्यमिक विद्यलयमा विद्यार्थीहरू सामूहिक रूपमा बेहोस हुन थालेपछि विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।
आइतबार बिहान प्रार्थना गर्ने क्रममा कक्षा ७ मा अध्ययनरत एक बालिका अचानक बेहोस भएर ढलेको केही समयमा कक्षा ७ का अन्य छ जना विद्यार्थी बेहोस भएका थिए। पहिलो दिन बेहोस भएका विद्यार्थीलाई उपचार र आराम गर्न भन्दै विद्यालयले घर पठाएको थियो। सोमबार बिहान पुनः विद्यार्थी विद्यालय आउने क्रममा कतिपय विद्यार्थी विद्यालय परिसरमा पुग्नासाथ बेहोस हुन थालेपछि दुई दिनका लागि पठनपाठन बन्द गरिएको आदर्श माध्यमिक विद्यालय परासीका प्रधानाचार्य दीपक भट्टराईले बताउनुभएको छ।
आइतबार बिहान कक्षा ७ का केही विद्यार्थीमा बेहोसीको समस्या देखिएको थियो भने सोमबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीमा मुख्य रूपमा छात्राहरूमा बेहोस हुने समस्या देखिएको विद्यालयका प्रधानाध्यापक भट्टराईले जानकारी दिनुभयो। नगरपालिकाको शिक्षा शाखाको सल्लाहमा सोमबार र मङ्गलबार दुई दिनका लागि विद्यालय बन्द गरिएको बताइएको छ।
विद्यालयमा बेहोस भएका विद्यार्थीलाई जिल्ला अस्पतालमा भर्ना गरी सामान्य उपचारपछि घर पठाइएको छ। प्रारम्भिक परीक्षणमा कुनै खासै समस्या नदेखिएको भए पनि बालबालिकामा मास हिस्टेरियाको सङ्केत देखिएको पृथ्वीचन्द्र अस्पताल परासीका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताउनुभएको छ।